ओखलढुंगा । संघीय सांसद यज्ञराज सुनुवारले ओखलढुंगा जिल्लामा कोरोना रोकथाम र नियन्त्रणका लागि सांसदका हिसाबले गर्नुपर्ने कुनै पनि काम बाकी नराख्ने बताएका छन् । उनले ओखलढुंगाखबरसँग कुरा गर्दै सबै ओखलढुंगेलीलाई कोरोना भाइरसबाट बच्न आग्रह गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कोरोना रोकथाम र नियन्त्रणमा तपाइँको भूमिका के रह्यो भन्ने प्रश्नमा सांसद सुनुवारले आफ्नो १ महिनाको सुविधा कोरोना रोकथामका लागि खर्चिएको बताए । उनले कोरोना कोषमा आधा महिनाको सुविधा र जिल्लावासीका लागि कमाण्ड पोष्टमा आधा महिनाको सुविधा दिएको बताए ।
सुरुमा जिल्लामा मेडिकल सामग्रीको हाहाकार हुँदा व्यक्तिगत तर्फबाट सहयोग गरेको उनको भनाई छ । उनले ३ हजार मास्क, थर्मोमिटर र केही सेनिटाइजर जिल्लामा सुरुमै सहयोग गरेको बताए । विभिन्न संघसंस्थालाई आग्रह गरेर जिल्लाका सबै स्थानीय तहहरुमा मेडिकल सामग्री सहयोग गरेको उनी बताउँछन् । केन्द्र सरकारसँगको समन्वयमा सुरक्षाकर्मीले लगाउने पीपीईलगायतका सामग्री आफूले व्यवस्था उनको भनाई छ ।
पीसीआर र आरडीटी किट व्यवस्थापन गर्ने, क्वारेन्टायन कक्षका लागि सामग्री प्रबन्ध मिलाउनेलगायतका काम पनि गरिएको सांसद सुनुवार बताउँछन् । विभिन्न क्षेत्रमा अलपत्र नागरिक जिल्ला ल्याउन आफूले सक्दो भूमिका खेलेको उनी बताउँछन् । केन्द्र सरकारका निर्णय जिल्ला र स्थानीय तहमा र यहाँका निर्णय केन्द्र सरकारसम्म पुर्याउन समेत आफ्नो भूमिका रहेको उनको भनाई छ ।
कुराकानीका क्रममा सांसद सुनुवारले केही पोका सामान दिनेबित्तिकै फोटो खिचाउने प्रचलन बढेकाले त्यस्तो काम नगर्न समेत आग्रह गरे । उनले कोरोना र लकडाउनको अवस्थामै स्थानीयस्तरमा भएका जनशक्तिलाई परिचालन गरेर विकास निर्माणका कामलाई गति दिनुपर्ने बताए । कृषिमा आधुनिकीकरण गर्दै कृषिलाई व्यवसायिकतामा ध्यान दिनुपर्ने बेला आएको बताए ।
कोरोना रोकथाम र नियन्त्रणमा सांसद सुनुवारको भूमिका के रह्यो हेरौँ-