ओखलढुंगा । लिखु गाउँपालिका वडा नं. २ सिंहदेवीस्थित रहेको बाघखोर ठूलीवन सामुदायिक वनमा सालका रुख वन समुहका पदाधिकारीकै मिलेमतोमा काटिएका छन् । लकडाउनको समयमा मिलेमतोमा सालका रुख काटिएका हुन् ।
स्थानीय उपभोक्ताका अनुसार वन समुहका सचिव रामकुमार बुढाथोकीको सालका रुख काट्न र निकासी गर्न संलग्न छन् । उनले संलग्नता अस्वीकार गर्ने पनि काटिनुपूर्व आफुलाई सोधिएको भने बताए । उपभोक्ताले साल काटिएको विषय समुह तथा वडा कार्यालयमा छलफल गराउँदा कारवाही नभएपछि डिभिजन वन कार्यालय ओखलढुंगामा उजुरी गरेका छन् । सालका रुख कटान गरेर निकासी गर्ने काममा उक्त वन समहुका सचिव रामकुमार बुढाथोकीको संलग्नता रहेकोभन्दै उनी विरुद्ध उजुरी दर्ता भएको हो ।
सामुदायिक वनका साल वन समुहको निर्णय र पूर्जी विनै सचिवले काटेर चोरी निकासी गरेकाले उजुरी गरेको उजुरीकर्ता बलराम राउतले बताए । उनका अनुसार समुहका सचिवले १२ ओटा सालका रुख काटेर चोरी निकारी गरेको पाइएपछि वन समूहका अध्यक्ष र वडा अध्यक्षलाई जानकारी गराइए पनि छानविन नभएपछि डिभिजन वन कार्यालयमा उजुरी दर्ता भएको छ ।
सामुदायिक वनका साल काटिएको विषयमा उपभोक्ताले भनेपछि मात्रै थाहा पाएको र विना पूर्जि काटिएको पाइएको वन समुहका अध्यक्ष विष्णु तिमिल्सिनाले जानकारी दिए । वडा कार्यालयमा भएको छलफलमा साल आरनमा गोल बनाउन स्थानीय व्यक्तिले पूर्जि बिनै काटेको बताए । स्थानीय उपभोक्ताले भने समुहका सचिवले साल कटान गरेर काठ निकासी गरेको दावी गरेका छन् । सचिव बुढाथोकीले मुद्दा विषयान्तर गराउन अरु व्यक्तिले गोल पोल्न काटेको भनेर हल्ला गरेको स्थानीय उज्जन गोलेले बताए । उनले भने, ‘वन नै सखाप हुनेगरि काठ काटिएको छ, निकासी गरेको स्थानीयले देखेका छन् ।’
सालका काठ काटेर निकासी गरेको विषयमा समुहका सचिव बुढाथोकीले आरोप मात्रै लगाएको दावी गरे । साल काट्न आफ्नो संलग्नता नरहेका, अिवैध रुपमा सालका रुख काटिएका भए पनि ती रुख काम नलाग्ने रहेको उनको दावी छ । उनले भने, ‘तीन घर विश्वकर्माले मसँग रुख गोल बनाउन मागेका थिए, हुन्छ भनेको थिएँ, थाहै नपाइ काटेछन् ।’ उनी एक दशकदेखी उक्त वन समुहको सचिव रहदै आएको स्थानीयले बताए ।
सामुदायिक वनको काठ चोरी निकासी समुहकै पदाकिारीको मिलेमतोमा भएको उजुरीको आएको डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठले जानकारी दिए । उनले प्राविधिक समेत खटाएर अध्ययन गरेपछि कारवाही थालिने बताए ।