नेपाली कांग्रेस कसैसँग हार्छ भने आफैसँग र आफ्नै कारणले हार्छ । कांग्रेसलाई अरु कसैले हराउन मुश्किल पर्छ तर आफ्नै भन्नेहरुले सजिलै हराइदिन्छन । अहिलेसम्मको इतिहास हेर्दा कांग्रेसको सुन्दरता भनेकै आफैंले आफैलाइ हराउने र त्यसैमा सबै रमाउने भन्ने जस्तै देखिएको छ । चुनावी मैदानमा होमिएका उम्मेदवारलाई हराउन एकले अर्कोलाइ पैँचो तिरेर हिसाब मिलान गर्ने प्रकृयालाइ नै कांग्रेसका दिग्गज नेताहरुले ठूलो लोकतान्त्रीक अभ्यासका रुपमा व्याख्या गर्दै हिँडेका छन् । तर यो प्रकृया कहिलेसम्म चल्ने ? कांग्रेसीजनहरुका लागि यो महत्वपूर्ण प्रश्न बन्न सक्छ । पुराना पुस्ताका नेताहरुले भेउ नपाएका कतिपय महत्वपूर्ण तर सम्हाल्न नसकेका कुराहरुलाइ अबको नयाँपुस्ताको कांग्रेसले सोच्नु पर्ने अवस्था आएको छ । नेपाली कांग्रेसले ४३ औं राष्ट्रिय मेलमिलाप दिवश मनाइरहँदा आफूभित्रको आन्तरिक मेलमिलापको निति कत्तिको पालना भएको छ भनेर फर्केर हेर्नु जरुरी छ । आफै भित्र मेलमिलाप गर्न नसक्ने अनि राष्ट्रिय मेलमिलापको दुहाइ दिएर मात्र कसरी बाँच्ला लोकतन्त्र ? पार्टीले कार्यक्रम गर्दै गर्दा आफ्नो गुटलाइ मात्र बोलाउने र मन नपरेकाहरुलाइ नआइदिए हुन्थ्यो भन्ने अनि अर्को गुटले कार्यक्रमनै बिथोल्ने र सफल हुन नदिने जुनखालको प्रबृति मौलाएको छ त्यो नेपाली कांग्रेसका लागि पहिलो अभिसाप बन्ने छ ।
पार्टीको आन्तरिक मेलमिलाप र व्यवस्थापन, गुटगत राजनीतिको अन्त्य, संगठनात्मक संरचना चलायमान, भातृ तथा सुभेच्छुक संग संगठनहरुलाई स्वयम् निर्णय गर्न सक्ने अवस्थाको प्रत्याभूति, समूहिक निर्णयप्रणलीको व्यवस्था, पार्टी अनुशासनको कसी, ठेकेदारी प्रथाको अन्त्य, नेतृत्वतहमा देखिएको अहमताको अन्त्य, नेता र जनताबीच देखिएको खाडलको अन्त्य, एक व्यक्ति एक पदको अवधारणको विकासलगायतका कुराहरुलाई केन्द्रभागमा राखेर पार्टीलाई सामूहिक नेतृत्वमा लैजान कांग्रेसको नेतृत्वले सक्नु पर्दछ । हार्दा पार्टी हार्ने र जित्दा व्यक्ति जित्ने भन्ने प्रबृतिले अघि बढेको कांग्रेसका नेताहरुको चरित्रलाई पहिला सुधार्न नसक्ने हो र आन्तरिक मेलमिलापमै किचलो गरिरहने हो भने अबको कांग्रेस आजको राप्रपाको ठाउँमा पुग्ने कुरा निश्चित छ । जब जब देशमा संकट आउँछ त्यसबेला कुनै न कुनै हिसाबले देशको नेतृत्व गरेको नेपाली कांग्रेस आज आइपुग्दा झण्डै तेस्रो हुन पुग्यो । वाहिरी नजरमा हेर्दा यसको कारक तत्व वाम गठबन्धनको एकता हो । तर कांग्रेस हारको खास कारण वाम गठबन्धनमात्र होइन् । उसको आन्तरिक मेलमिलाप तथा व्यवस्थापन, संगठन सुदृढीकरण र नेता सुद्धिकरण नै महत्वपूर्ण पाटो हो ।
प्रतिष्पर्धी राजनीतिक शक्तिले अर्को प्रतिष्पर्धामा उत्रिएको शक्तिलाई सिध्याउन खोज्नु कुनै राजनीतिक अपराध नभई यो सामान्य राजनीतिक सिद्धान्तभित्रै पर्दछ । तर घरभित्रबाटै एकले अर्कोलाई सिध्याउन खोज्नुलाइ चै ठुलो राजनीतिक अपराधका रुपमा लिँदा अतियुक्ती हुँदैन । नेपाली कांग्रेसको वर्तमान अवस्था यही हो । यसले विपक्षीलाई फाइदा पुग्यो र आन्तरिक हारको पीडा खेप्नुपर्यो । अर्को कुरा कांग्रेसले आफ्नो नेतृत्वको सरकारले गरेका जनमैत्री कामहरुलाई आम नागरिक माझ पस्कनै सकेन् । तर जम्मा एउटा मुद्धा बोकेर जनतामाझ पसेको एमाले आज झण्डै बहुमत नजिक पुगेको छ । सात सालको क्रान्ति देखि प्रजातन्त्र पुनःस्र्थापना हुँदै संविधानसभाबाट जनताको संविधान लेख्ने नेतृत्व गरेको कांग्रेसले विभिन्न समयमा सत्तामा रहँदा गरेका जनमैत्री कामहरु जनतामाझ पुर्याउन सकेको छैन् । पार्टी नेतृत्व सरकारमा रहँदा विभिन्न समयमा (गाउँगाउँमा विद्यालय, स्वास्थ्य संस्था, स्वास्थ्य स्वम्सेविकाको व्यवस्था, गरिब तथा दलित छात्रछात्राहरुका लागि छात्रबृति, विद्यार्थी खाजा खर्च, गरिब अशक्त र ठूला प्रकृतिका रोगहरुको निःशुल्क उपचार तथा छुट सुविधा) लगायतका महत्वपूर्ण निर्णय गरेको भएपनि त्यसलाई नागरिकमाझ पुर्याउन नसक्दा कांग्रेसले गरेको जनमैत्री कामको व्याज अन्य राजनीतिक दलले खाइरहेका छन् ।
कांग्रेसलाई भोट दिने देशभरका नागरिक, सुभेच्छुक तथा कार्यकर्ताहरु कांग्रेसको हारप्रति दुखी देखिएपनि पार्टीका नेताहरुलाई हारको कुनै प्रवाह छैनन् । स्वम् हारेका उमेद्वारहरु मात्र अलि चिन्तीत देखिन्छ न कि उनिहरु पार्टीको हार भन्दापनि व्यक्तिगत हारको पिडामा रुमलिएका हुन् कि भन्ने आम कार्यकर्ताको बुझाइ छ । हारको पीडा स्वम्लाई हुनु स्वभाविक पनि हो । तर कार्यकर्ता माझ पुगेर यसलाइ नेतृत्वले चिर्नु पर्छ । हिजो कांग्रेसलाइ भोट दिएर कांग्रेसको हारप्रति दुखि बनेका जनतासंग आज कुनै नेताहरु पुग्न सकेका छैनन् । यसले ती मतदाताहरुको पार्टीप्रतिको स्वाभिमान, इमान्दारिता, निष्ठा र आत्माविश्वासमा ठेस पुग्न सक्छ । उनिहरुलाई उमेद्वार तथा पार्टी नेता कार्यकर्ताले कुनै न कुनै हिसावाट सान्त्वना दिने र स्थानीय तहमा पुगेर पार्टीका संघ संगठनहरु लाइ चलायमान बनाउने अभियानमा लाग्नु अहिलेको मुल आवश्यक्ता हो । यस संगै गुटको राजनीतिलाई मलजल गर्ने र पार्टी कार्यकर्ताको हार प्रति रमाउने प्रचलनलाई आजैबाट तिलाञ्जली दिन सकिएन भने भोलीको कांग्रेस निकै कमजोर बन्छ र पुनः हिजोका ठाउँमा आइपुग्ने कुरा इतिहास मात्र बन्छ । पार्टी नेतृत्वको प्रबृतिले बिगारेको कांग्रेसमा नयाँ पुस्ताका कार्यकताको बानी, व्यवहारमा समेत परिवर्तन आइसकेको छ । उनीहरु कुनै न कुनै टीमको कार्यकर्ता भएर अडिएका छन् नकी सिंगो पार्टीको होइन् ।
आन्तरिक व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर गुटगत राजनीतिको अन्त्य, संगठनात्मक संरचना चलायमान, भातृ तथा शुभेच्छुक संघ संगठनहरुलाई स्वयम् निर्णय गर्न सक्ने अवस्थाको प्रत्याभूति, समूहिक निर्णय प्रणालीको व्यवस्था, पार्टी अनुशासनको कसी, ठेकेदारी प्रथाको अन्त्य लगायतका केही महत्वपूर्ण विषयमा बहस चलाउन अहिलेको कांग्रेसभित्रको पहिलो आवश्यकता देखिएको छ । साथै ६५ बर्ष माथिका अर्थात् ज्येष्ठ नागरिक भइसकेका पार्टी नेतृत्वलाई उच्च सम्मानका साथ पार्टी संगठनभन्दा माथि रहने गरी पार्टीको संरक्षण तथा सल्लाह सुझाव दिने ठाउँ निर्माण गरी व्यवस्थापन गर्ने र नयाँ पुस्तालाई पार्टी नेतृत्व हस्तान्तरण गर्न सक्नु अहिलेको दोस्रो आवश्यक्ता हो । पार्टी शुद्धीकरण र सुदृढीकरणको अर्काे महत्वपूर्ण कुरा पार्टीभित्र पुरस्कार र दण्डको समेत व्यवस्था गरिनु पर्छ । पार्टी सञ्चालनका क्रममा विधानलाइ केहीहद सम्म मात्र पालना गर्न सकेको खण्डमा पनि धेरै कुराहरुको सुधार आफैहुन थाल्छ ।
सदस्यता वितरणको समयदेखि नै गरिने गुटको राजनीतिलाई अन्त्य गरी सदस्यता प्रदान वा नविकरण गर्दा लाग्ने शुल्क समेत कुनै नेताको खल्तीबाट नभई स्वम् सदस्यबाटै अनिवार्य लिने गरी विधानबमोजिम अघि बढ्नु श्रेयस्कर हुन्छ । पार्टीभित्रका ज्येष्ठ र श्रेष्ठ व्यक्तिहरुलाई ज्येष्ठ नागरिक संगठन गठन गरी जिम्मेवारी दिन सक्यो भने पनि नेता व्यवस्थापनमा केही सहजता आउँछ । उल्लेखित विषयलाई मूर्तरुप दिने सन्दर्भमा कैयौं चुनौतीहरु पनि छन् । तथापि यी चुनौतीलाई सामना गर्दै अबको नेतृत्वसँगै पार्टी नेता कार्याकर्ताहरुले पार्टीको आन्तरिक व्यवस्थापनका विषयमा गम्भीर भएर वहस चलाउनु जरुरी छ । अझ भन्दा कांग्रेसको भविश्य आफूभित्र र आफूसहित देश र जनताको भविश्य कांग्रेसभित्र खोज्ने नयाँ पुस्ताका नेता कार्यकर्ताहरुले बहस सञ्चालन सँगै तत्काल व्यवहारमा उतार्दै लैजान सक्नु पर्दछ । अतः पार्टी भित्रको आन्तरिक मेलमिलाप र व्यवस्थापन ध्यान दिदै देशको समृद्धि र विकासलाइ मुख्य एजेण्डा बनाएर अघि बढ्ने हो भने मात्र राष्ट्रिय मेलमिलापको सान्दर्भिकता अझै लोकप्रिय बन्न सक्छ ।