ओखलढुंगा । जिल्लामा अत्यावश्यक दैनिक उपभोग्य खाद्यवस्तु, तरकारी, फलफूल, इन्धन, औषधिलगायतका अत्यावश्यक पसलहरु समय तालिका अनुसार खोलिने भएको छ । कमाण्ड पोष्टले आज उक्त निर्णय गरेको हो ।
पोष्टको निर्णय अनुसार खाद्यान्न, तरकारी पसल, फलफूल, दूधलगायतका दैनिक उपभोग्य सामग्री बेचबिखन गर्ने व्यवसाय तथा पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । निर्णय अनुसार अन्य होटल तथा पसलहरु सञ्चालन गर्न नपाइने भएको छ ।
यस्तै जिल्लाभित्र सञ्चालन हुने खाद्यान्न, तरकारी पसल, फलफूल, दूधलगायतका दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने सवारी साधन तथा विक्रेता व्यक्ति विहान ५ बजेदेखि विहान ९ बजेसम्म मात्र सञ्चालन गर्न र हिँड्डुल गर्न पाउने भएका छन् ।
निर्णय अनुसार विभिन्न आयोजना तथा योजनाहरुको लागि निर्माण सामग्री ढुवानी गर्ने टिपर/ट्रकहरु बेलुका ५ बजेदेखि विहान ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यस्तै विभिन्न आयोजना तथा योजनाहरुको लागि निर्माण सामग्री ढुवानी गर्ने ट्रयाक्टर, पिकअपहरू दिउँसो १ बजेदेखि विहान ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । नेपाल सरकारको चैत २४ गतेको र प्रादेशिक संकट व्यवस्थापन केन्द्र प्रदेश नं १ को चैत ३० गतेको निर्णय बमोजिम कमाण्ड पोष्टले निर्णय गरेको हो ।
बाहिरी जिल्लाबाट ओखलढुंगा प्रवेश गर्ने तथा फर्कने ढुवानीका साधनहरुको हकमा सम्बन्धित स्थानीय तह र उद्योग वाणिज्य संघमा विवरण राखेर उक्त निकायको सिफारिश, बील भरपाई आदि कागजातहरुको आधारमा आवतजावत गर्न दिइने भएको छ । यस्तै सदरमुकाममा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरु आलोपालो गरी साताको २ दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालन गरिने भएको छ ।
हेर्नुहोस् कमाण्ड पोष्टको निर्णय-