ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाले जिल्लाका केही स्थानीय तहले लकडाउनप्रभावित परिवारलाई राहतस्वरुप उपलब्ध गराइएको खाद्यसामग्री पर्याप्त बितरण नगरेर सस्तो लोकप्रियताको लागि मात्रै गरेको जस्तो देखिएको बताएको छ । पार्टी सभापति प्रदीपकुमार सुनुवारले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएका हुन् ।
जारी प्रेस विज्ञप्तमा राहतमा एकरुपता ल्याई गरिबको निरन्तर चुल्हो बाल्ने परिस्थिति सिर्जना गर्न स्थानीय सरकार लाग्नुपर्ने उल्लेख गरिएको छ । जिल्लामा पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षाका सामग्रीहरु पर्याप्त नरहेको र स्थानीय सरकारहरु स्वास्थ्य सामग्री खरिद गर्न आनाकानी गरिरहेको विज्ञप्तिमा भनिएको छ । जिल्लालाई चाहिने आवश्यक स्वास्थ्य सामग्री बन्दोबस्त गर्न विज्ञप्तिमार्फत अपिल गरिएको छ ।
जिल्लाका सबै नागरिकको कोरोना परीक्षण गर्न माग गर्नुका साथै परीक्षणका लागि आवश्यक पर्ने कीटको पर्याप्त व्यवस्थापन गर्नका लागि संघीय र प्रादेशिक सरकारका जनप्रतिनिधिहरुलाई अनुरोध गरिएको छ । विज्ञप्तिमा कोरोनाको रोकथाम, नियन्त्रण र देशमा लगाइएको लकडाउनबाट जिल्लावासीहरुले भोगिरहेको समस्या र समाधानका उपायहरु र देशमा लगाइएको लकडाउन खुलेपछि देखा पर्ने संभावित समस्याहरुको समाधानका विषयहरुका अल्पकालीन, मध्यअल्पकालीन र दीर्घकालीन पूर्व तयारीका नीति, योजना तर्जुमा गरी जिल्लाको समृद्धिलाई बचाई राख्न निर्वाचित सांसदहरु, जिल्लास्थित राजनीतिक दलहरु, नागरिक अगुवाहरु, सञ्चारकर्मीहरु, विज्ञ प्राविधिक, सरकारी निकाय, सुरक्षा निकाय एवं स्थानीय तहहरु र सरोकारवाला सम्पूर्ण निकायहरुलाई एकताबद्ध भई सबैको साझा सवालको अनुभूति दिलाई अघि बढ्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
लकडाउनबाट प्रभावित स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकता दिई बजेट ल्याउन माग गरिएको छ । 'कोरोना संक्रमण महामारीको यस घडीमा विभिन्न किसिमका स्वास्थ्य सामग्रीहरु ल्याएर सबै स्थानीय तहहरु, स्थानीय प्रशासन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अभियन्ताहरुलाई सहयोग गर्नु हुने कांग्रेस नेता एवं संविधानसभा सदस्य श्री रामहरि खतिवडाज्यू लगायत विभिन्न व्यक्ति तथा संघ संस्थालाई हार्दिक धन्यवाद दिन्छौं । ओखलढुंगा जिल्लाका नागरिकहरुलाई उद्दार गर्नका लागि सहयोग गर्ने जिल्लाभित्रका र जिल्ला बाहिरका जनप्रतिनिधिलगायत सम्पूर्णमा धन्यवाद दिन्छौं । साथै खिजीदेम्बा गाउँपालिकाका १२ जना अलपत्र मजदूरलाई उद्दार गर्न सहयोग गर्ने जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर कान्ति सिजुवाललाई विशेष धन्यवाद ज्ञापन गर्दछौं । कोभिड १९ रोगको रोकथाम, नियन्त्रण, उपचार र लकडाउनबाट प्रभावित नागरिकहरुको उचित सेवामा सावधानीका साथ लाग्न आम पार्टी नेता कार्यकता एवं सम्पूर्ण क्रियाशील सदस्यहरुलाई नेपाली कांग्रेस ओखलढुंगा हार्दिक आह्वान गर्दछ । सम्पूर्ण ओखलढुंगावासी आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुलाई यस महामारीको बेला हतोत्साहित नभई उच्च मनोबलका साथ सामाजिक दूरी कायम राख्दै सावधानीका साथ कृषि उत्पादनमा लाग्नु हुन समेत अपिल गर्दछौं ।' विज्ञप्तिमा भनिएको छ ।