ओखलढुंगा । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख महेश यादवको कमिशन सेटिङमा मानेभञ्ज्याङको उँबूमा रहेको फोकुल सिंचाइ योजना सञ्चालन भइरहेको थप तथ्य ओखलढुंगाखबर डटकमले फेला पारेको छ । यादवका एजेन्टको भूमिका निर्वाह गर्दै आएका प्रकाश तामाङले उक्त योजनाको ठेकेदार र उपभोक्ता समिति दुवै तर्फको काम गरिरहेको खुलासा भएको छ ।
तामाङले सो योजनामा काम गर्नका लागि हेमदुङ थोकर कन्ट्रक्सनको फर्म प्रयोग गरेका छन् । योजनाको उपभोक्ता समितिको अध्यक्ष समेत तामाङ नै छन् । योजना पार्दादेखि नै कार्यालय प्रमुखको सेटिङमा प्रवेश पाएका तामाङ सो योजनामा हावी भइरहेका छन् । 'योजना मैले पार्ने हो, काम हामीले गर्ने हो भनेपछि उपभोक्ता समिति अध्यक्षमा प्रकाश तामाङलाई राख्यौँ,' समितिका सचिव इन्द्र जाबा राईले ओखलढुंगाखबरसँग भने, 'योजना पार्दा दौडधुप तामाङकै बढी भएकाले यो योजनाको ठेकेदार पनि उनी नै हुन् ।'
सो योजनाको ठेकेदार र उपभोक्ता समिति तर्फको दुवै काम आफूले गर्दै आएको तामाङले ओखलढुंगाखबर डटकमसँग स्वीकार गरेका छन् । अनियमितता गर्ने उद्देश्यले सेटिङमा योजनामा प्रवेश गरेका तामाङ अनेक फण्डा गरेर उपभोक्ता समिति अध्यक्ष बनेको पाइएको छ ।
स्थानीय उपभोक्ता नभए समितिमा बस्ने नपाइने कानूनी व्यवस्था भएपछि कार्यालय प्रमुख यादवकै संलग्नतामा योजना सम्झौता गर्नु अगाडि सोही योजनाका हालका उपाध्यक्ष विष्णुप्रसाद राईको थोरै जग्गा तामाङको नाममा नामसारी गरिएको तथ्य बाहिर आएको छ । तामाङको घर मानेभञ्ज्याङ ४ केत्तुकेमा हो । उनको यसअघि उँबूमा जग्गा थिएन । 'कार्यालय प्रमुखको मिलेमतोमा तामाङको नाममा जग्गा नामसारी गरेर समिति अध्यक्ष बनाइएकै हो,' स्थानीय उपभोक्ता समितिका एक पदाधिकारीले नाम नबताउने शर्तमा भने, 'हामीले तामाङको खेलोमेलो बुझिरहेका छैनौँ ।'
यो योजनाको कुल लागत ३ करोड ३५ लाख ९५ हजार रहेको छ । योजनामा उपभोक्ता समितिमार्फत ९६ लाखको काम भइरहेको समिति सचिव राईले बताए । बाँकी बजेट ठेक्कामार्फत सञ्चालन भइरहेको छ । योजनाको काम गत फागुनदेखि सुरु भएको हो ।
खाली चेकमा सही गराए कार्यालय प्रमुखका एजेन्ट तामाङले
फोकुल सिंचाइ योजनाका ठेकेदार र उपभोक्ता समिति अध्यक्ष समेत रहेका सिंचाइ कार्यालयका प्रमुख यादवको एजेन्टको भूमिका निर्वाह गर्दै आएका प्रकाश तामाङले उपभोक्ता समितिका सचिव र कोषाध्यक्षलाई खाली चेकमा सही गराएका छन् । तामाङले उनीहरुलाई प्रलोभनमा पारेर खाली चेकमा सही गराएका हुन् ।
समितिको बैठकबाटै पहिलो किस्ता निकासा गर्ने भनेर उनले खाली चेकमा सही गराएको उपभोक्ता समिति सचिव राईको भनाई छ । 'मजदूरलाई पैसा दिनैपर्ने भयो भनेपछि खाली चेकमा सही गरिदिएका हौँ,' सचिव राईले भने, 'हिसाबकिताब भन्दापनि हामीलाई गुणस्तरीय काम चाहिएको हो ।'
स्थानीय एक युवाका अनुसार तामाङले खेलोमेलो मिल्ने र सेटिङ मिलाउन सहज हुने व्यक्तिहरुलाई कार्य समितिमा पदाधिकारी राखेका छन् ।
अरु योजनामा पनि तामाङको हस्तक्षेप
ओखलढुंगाखबर डटकमले कार्यालय प्रमुखको एजेन्टको भूमिका निभाउँदै आएका तामाङले अरु योजनामा पनि अप्रत्यक्ष संलग्न रहेको खुलासा गरेको थियो । कार्य समितिलाई निष्क्रिय बनाएर एजेन्टको भूमिका निभाउँदै आएका तामाङले कार्यालय प्रमुखलाई कमिशनको सेटिङ मिलाउने गरेका थिए ।
उनले मानेभञ्ज्याङ गाउँपालिका ४ का ६४ लाख ९१ हजार लागतको आहाले सिंचाई योजना, ४० लाख ८ हजारको ध्याप्लु नयाँ प्रविधि सिंचाई योजनामा काम गर्दै आएका छन् । उक्त योजना उपभोक्ता समितिमार्फत् देखाएर तामाङ आफैँले काम गरिरहेका छन् । त्यस्तै तामाङले ४ करोड ९७ लाख बराबरको अँधेरी आहाल खोल्सा धुसेनी योजनामा ठेक्कातर्फ तामाङले काम गर्दै आएका छन् । उनले कार्यालय अन्य योजनाबाट समेत कमिसन असुलेर कार्यालय प्रमुखलाई बुझाउने गरेका स्रोतको दाबी छ ।
यो पनि पढ्नुस्
सिंचाइ अनियतता प्रकरण २ : कतै हिसाब नखोज्ने पूर्वशर्त, कतै प्रलोभन
ओखलढुंगाको सिंचाइ कार्यालयमा असुलिन्छ योजनैपिच्छे कमिसन