ओखलढुंगा सदरमुकाममा नेपालका अंग्रेजी शिक्षकहरुको साझा मञ्चको शाखा ओखलढुंगामा गठन गर्ने शिलशिलामा जिल्लाका अंग्रेजी शिक्षकहरुको भेला बसेको थियो । समसामयिक विषयवस्तुहरुमा छलफल गर्ने क्रममा धेरै शिक्षकहरुले हाल सामुदायिक विद्यालयहरुमा अंग्रेजी भाषालाई सबै विषयको माध्यम भाषा बनाउँदा समग्र पठनपाठन नै अप्रभावकारी बन्न पुग्नेतर्फ चिन्ता र चासो व्यक्त गरेका थिए । दक्ष शिक्षकविनाको शिक्षाण सिकाइले विद्यार्थीहरुको सिकाइमा प्रतिकुल असर पर्ने मत धेरै शिक्षकहरुले जाहेर गरेका थिए । संघीयता कार्यान्वयनपछि गठन भएका धेरै स्थानीय सरकारहरुले आफ्ना ऐन र नियमहरुमा सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट नै पठनपाठन गर्नुपर्ने नीतिगत व्यवस्था गरेका छन् । अभिभावक र विद्यार्थीहरुको रोजाइमा पनि अंग्रेजी माध्यमबाट पढाइ हुने विद्यालय नै प्राथमिकतामा पर्न थालेका हुन् । पछिल्लो समग्र अंग्रेजी माध्यमको शिक्षालाई शैक्षिक गुणस्तरसँग दाँज्ने प्रचलन बढ्दो छ । अझ धेरै सामुदायिक विद्यालयले विद्यार्थीलाई निजी विद्यालयमा जानबाट रोक्नका लागि पनि नेपाली माध्यमको सट्टा अंग्रेजी माध्यमबाट शिक्षण गर्न सुरु गरेका हुन् । अंग्रेजी माध्यमबाट शिक्षा दिनुलाई धेरैले समयको मागको रुपमा लिएका छन् । यसै सन्दर्भमा विद्यालयहरुमा अंग्रेजी भाषालाई माध्यम भाषा बनाउँदा आइपर्ने समस्या र संभावनाहरुको चर्चा यस आलेखमा गरिन्छ ।
हाम्रा विद्यालयहरुमा अंग्रेजीलाई विषय र शिक्षण गर्ने माध्यम दुवै रुपमा लिइन्छ । विषयको सुरुमा सामुदायिक विद्यालयमा अंग्रेजी कक्षा १ देखि नै अनिवार्य विषयको रुपमा छ । विषयको रुपमा अंग्रेजी शिक्षण गर्दा अंग्रेजी भाषामा नै शिक्षण गर्नुपर्दछ । र गर्ने गरिन्छ पनि । अंग्रेजी बाहेक अन्य विषयहरु नेपाली भाषाको माध्यमबाट शिक्षण गर्ने गरिन्छ । निजी विद्यालयहरुमा भने नेपाली बाहेक अन्य सबै विषयहरु अंग्रेजी माध्यमबाट पढाइ हुने गर्दछन् । निजी विद्यालयकै शैलीमा अहिले धेरै सामुदायिक विद्यालयहरुमा पनि नेपाली बाहेकका विषयहरु अंग्रेजी माध्यमबाट पढाउने क्रम बृद्धि भएको छ । तसर्थ विद्यालयमा अंग्रेजी भाषालाई शिक्षणको माध्यम बनाउनु भनेको अंग्रेजी बाहेकका अन्य विषयहरु सामाजिक, नैतिक, स्वास्थ्य, जनसंख्या, गणित, विज्ञान, लेखा, कम्प्युटरलाई पनि अंग्रेजी भाषामा नै पढाउनु भन्ने बुझिन्छ ।
विद्यालय शिक्षा अंग्रेजी भाषामा प्रदान गर्ने प्रचलन विश्वव्यापी रुपमा बढ्दो छ । यसका केही निश्चित कारणहरु छन् । यसो हुनुमा अभिभावकहरुको चाहना र माग नै प्रमुख रुपमा आउने गर्दछ । अंग्रेजी भाषा अन्तरराष्ट्र्रिय भाषा हो जसको प्रभाव विश्वव्यापीकरण र आधुनिक सूचना प्रविधिको विकाससँगै हरेक क्षेत्रमा विस्तार भइरहेको छ । विश्व बजारमा अंग्रेजीको ज्ञानलाई अपरिहार्य मानिन्छ । अर्को कुरा, अंग्रेजी भाषाको माध्यमले हाम्रो ज्ञानको क्षेत्र विस्तारमा महत्वपूर्ण मद्दत पुग्छ । संसारमा धेरैजस्तो पुस्तक, पत्रपत्रिका अंग्रेजी भाषामा प्रकाशित भएका छन् । साथै अंग्रेजी भाषाको माध्यमले हामीलाई इन्टरनेटको अथाह संसारमा पहुँच पु¥याउँछ । संसारमा सबैभन्दा बढी हेरिने र प्रयोग गरिने वेवसाइटहरु अंग्रेजी भाषामा नै छन् । अंग्रेजी भाषाको ज्ञानविना ती इन्टरनेटमा भएका ज्ञानका सामग्री र जानकारीहरुको पहुँच सम्भव हुँदैन । अंग्रेजी भाषाको कुटनीति, व्यापार, शिक्षा, सूचना प्रविधि, विज्ञान, मनोरञ्जन, चिकित्सा, विज्ञान, इन्जिनियरिङ, पर्यटन, वैदेशिक अध्ययन, कानुन, आमसञ्चारजस्ता हरेक क्षेत्रमा भएको छ । यो भाषा विश्वकै लोकप्रिय सम्पर्क भाषा हो । यसरी सूचना प्रविधि र विश्वव्यापीकरणको यस युगमा अंग्रेजी भाषाको महत्वलाई नकार्न सकिँदैन ।
हाम्रो समाजमा अंग्रेजीको ज्ञानलाई प्रतिष्ठासँग जोडेर हेर्ने प्रचलन पनि छ । धेरैका लागि अंग्रेजी जान्नु भनेको शिक्षित र आधुनिक हुनु हो । जति बढी अंग्रेजी जान्यो त्यति नै उच्च शिक्षा र रोजगारीको अवसर बढी हुने विश्वास पनि व्याप्त छ । अंग्रेजीमा शिक्षा हाँसिल गर्नु भनेको गुणस्तरीय शिक्षा हाँसिल गर्नु हो भन्ने बुझाई धेरै अभिभावक र विद्यार्थीहरुमा छ । धेरै विद्यालयहरुको बुझाइमा शैक्षिक गुणस्तर खस्कनुमा अंग्रेजी माध्यममा शिक्षण सिकाइ क्रियाकलाप हुन नसक्नु हो भन्ने छ । यी र यस्तै कारणहरुले गर्दा नेपालका सामुदायिक विद्यालयहरुमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने गरेको पाइन्छ ।
तर हाम्रो जस्तो बहुभाषिक समाजमा विद्यालय शिक्षा अंग्रेजी भाषाको माध्यमबाट प्रदान गर्ने विषय विवादरहित भने छैन । विज्ञहरुका अनुसार बालबालिकाको प्रारम्भिक पढाइ उनीहरुकै मातृभाषामा सुरु गर्नुपर्दछ । बालबालिकाहरुलाई उनीहरुले बुझ्ने भाषामा शिक्षण गर्नाले नै विषयवस्तुको ज्ञान सही तरिकाले दिन सकिन्छ । भाषा बुझिएन भने विषयवस्तु पनि बुझ्न सकिँदैन । परिणामस्वरुप सिकाइ अपुरो र अधुरो हुन पुग्छ । अहिलेको समयमा सिकाइको महत्वपूर्ण पाटो छलफल र अन्तक्र्रिया पनि हो । सिकाइको माध्यम अंग्रेजी मात्र बनाउँदा कतिपय सिर्जनात्मक विषयहरु जस्तै कला, सामाजिकमा छलफल र अन्तक्र्रिया नहुने भएपनि भाषिक समस्याले सीमित हुने गरेका गुनासाहरु पनि आएका छन् । कतिपय अवस्थामा शिक्षकले कक्षामा गएर पाठ मात्र पढ्ने तर छलफल र अन्तक्र्रिया नहुने समेत पाइएको छ । ग्ल्भ्क्ऋइ का अनुसार बालबालिकाहरुले आफूले बुझ्ने भाषा अर्थात् मातृभाषामा सिक्न पाए भने उक्त सिकाइ प्रभावकारी हुन्छ । फलस्वरुप त्यो सिकाइ रचनात्मक, सिर्जनात्मक, मौलिक र तार्किक बन्न सक्दछ । निश्चित उमेर पूरा भएपछि मातृभाषामा सिकेको ज्ञानलाई अन्य भाषामा स्थानान्तर गर्न सकिन्छ । यही मान्यतामा आधारित रहेर शिक्षा विभागले पनि कक्षा ३ सम्मको शिक्षा मातृभाषामा दिने, कक्षा चार र पाँचमा नेपाली माध्यमबाट शिक्षण गर्ने, कक्षा छ देखि अंग्रेजी माध्यमको प्रयोग सुरु गरी कक्षा नौ बाट पूर्ण रुपमा अंग्रेजी माध्यमको प्रयोग गर्न सकिने निर्देशन जारी गरेको थियो ।
नेपालमा जस्तो बहुभाषिक समुदायको बाहुल्यता रहेको देशमा विना तयारी र योजना विना अंग्रेजी माध्यम अपनाउँदा विभिन्न समस्या आइपर्ने कुरा विभिन्न अनुसन्धानहरुले देखाएका छन् । अंग्रेजी एउटा भाषा हो । हामीले विद्यालयमा पढ्ने भनेको ज्ञान, सीप र दक्षताको अभिवृद्धिका लागि हो । कुन भाषामा ज्ञान, सीप र दक्षता हाँसिल भयो भन्ने कुरा प्रधान होइन, मुख्य कुरा त पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्यहरु प्राप्त भए कि भएनन् भन्ने हो । अर्को कुरा विना ज्ञानको भाषिक दक्षताको अर्थ पनि रहँदैन । अनिवार्य विषयको भाषा नै शिक्षण गर्नु पर्दछ । तर अन्य विषयलाई विद्यार्थीहरुले बुझ्ने भाषामा पढाउनुपर्ने मान्यता पनि रहेको छ ।
विद्यालयमा सबै विषयहरु अंग्रेजी माध्यमबाट शिक्षण गर्न सबै विद्यालयका लागि अंग्रेजी भाषामा दक्ष र योग्य शिक्षकहरुको आवश्यकता पर्दछ । अंग्रेजी भाषामा दक्ष नभई अंग्रेजी विषयवस्तु पढाउन सम्भव हुँदैन । साथै भाषिक अवरोधका कारण बालबालिकाहरुलाई घरपरिवारबाट समेत पढाइमा सहयोग पुगेको हुँदैन । अझ नेपाली बाहेक अन्य भाषिक विद्यार्थीहरुले मातृभाषा नेपाली र अंग्रेजी गरी ३ वटा भाषा एकैपटक सिक्नुपर्दा सिकाइ झन् बोझिलो हुन जान्छ । फलस्वरुप विद्यार्थीको अभिव्यक्ति सीप कमजोर हुन जान्छ ।
त्यसो हो भने के हाम्रा विद्यालयहरुमा अंग्रेजी माध्यम अपनाउनु बेठीक हो त ? पक्कै पनि होइन । आजको प्रविधि र विश्वव्यापीकरणको युगमा अंग्रेजी भाषाको ज्ञान सबैलाई हुन जरुरी छ । कतिपय उच्च शिक्षाका विषयहरु जस्तै विज्ञान, इन्जिनियरिङ, चिकित्सा विज्ञान अंग्रेजी भाषाकै माध्यमबाट पढाइने हुनाले पनि विद्यालयस्तरमै अंग्रेजी भाषाको सिकाइ प्रभावकारी बनाउनुपर्ने हुन्छ । यसकारण विद्यालयमा अंग्रेजी भाषाको प्रयोग स्वागतयोग्य छ । बरु मुख्य सवाल यसलाई कसरी प्रभावकारी बनाउने भन्ने हो । यसका लागि सबैभन्दा पहिले विद्यालयहरुमा अंग्रेजी भाषाका दक्ष शिक्षकहरुको व्यवस्था सबै विषयहरुमा गर्नुपर्दछ । शिक्षकहरुको दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्नु पर्दछ । विद्यालयहरुमा उपर्युक्त पाठ्यपुस्तकको व्यवस्था गरी प्रशस्त शैक्षिक सामग्रीको व्यवस्था गर्नुपर्दछ । शिक्षण सिकाइमा आधुनिक सूचना प्रविधिको प्रयोगलाई जोड दिनुपर्दछ । शिक्षणको माध्यम भाषा बारे सरकारी नीतिमा एकरुपता र प्रष्टता हुन जरुरी छ । भाषा माध्यमकै कारणले देशमा दुई किसिमका विद्यालयहरु रहेका छन् । हाल गठन भएका स्थानीय सरकारहरुको शैक्षिक नीतिमा पनि एकरुपता पाइँदैन । यस सम्बन्धी स्थानीय तहहरु पनि स्पष्ट हुन जरुरी छ । साथै विद्यालयहरु पनि अंग्रेजी माध्यमबाट शिक्षण गर्नुको औचित्य बारे प्रष्ट हुन जरुरी छ । यस अवस्थामा स्थानीय भाषाहरुको शैक्षिक प्रयोग के हुने हो त्यसबारे पनि नीतिगत रुपमै सम्बोधन गर्नुपर्ने हुन्छ । साथै यस सम्बन्धी प्रारम्भिक अनुसन्धान गर्नु उपर्युक्त हुन्छ । यी कुराहरु गर्न सकियो भने मात्रै विद्यालयहरुमा अंग्रेजी माध्यमको प्रयोग प्रभावकारी हुन्छ ।