ओखलढुंगा । ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको सीमानामा रहेको दूधकोशी नदीको रबुवाघाटमा दूधकोशी जलाशययुक्त विद्युत् आयोजना निर्माण हुने भएको छ । चर्चा चलेको ३५ वर्षपछि सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत चारवटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको संयुक्त लगानीमा उक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री युवराज खतिवडाले ६ सय मेगावाट क्षमताको उक्त आयोजना निर्माण गर्ने घोषणा गरेका हुन् । सरकारले ४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको समिश्रित वित्त लगानी विधिबाट आयोजना निर्माण गर्ने घोषणा गरेको हो । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक संस्थागत जमानीमा आयोजनाको लागतको निश्चित अंश बाह्य लगानी परिचालन गरेर आयोजना निर्माण गर्ने सरकारको भनाई छ ।
सरकारको घोषणासँगै ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको सीमानामा रहेको दूधकोशी नदीको रबुवाघाटमा दुधकोशी जलाशययुक्त विद्युत् आयोजना निर्माण हुने पक्कापक्की भएको छ । यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाएर काम थाल्न आर्थिक वर्ष २०७७/७८ को बजेट अधिवेशनको अवसरमा संसदमा बोल्दै ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले सरकारसँग ताकेता गरेका थिए ।
दूधकोशी जलाशययुक्त आयोजना २०४२ सालमा जाइकाले नेपालको ६ वटा जलाशययुक्त योजनामध्ये आकर्षक योजनाका रुपमा पहिचान गरेको थियो । यो आयोजनाको ड्याम निर्माण गर्दा ओखलढुंगाका ४ सय ७९, खोटाङका ६ सय ५७ र सोलुखुम्बुका १४ घर गरी १ हजार १ सय ५० घरधुरी प्रभावित हुने भएका छन् । तीमध्ये १ सय ६२ घरमा पूर्ण क्षति पुग्ने भएको छ । १९ किलोमिटर क्षेत्रफलमा फैलिने आयोजनाको जलाशयबाट ७ लाख १० हजार १० वर्गमिटर खेतीयोग्य जमीन, तीन हजार ३ सय २० वर्गमिटर क्षेत्रफलमा लगाइएको फलफूलका बगैँचा, ४६ लाख ८६ हजार ७२९ खेत, १० लाख २२ हजार ८७० वर्गमिटर पाखोबारी डुवानमा पर्ने छ । त्यस्तै जलाशयका कारण १ हजार २ सय २२ वर्गमिटर क्षेत्रफल माछा मार्ने ठाउँ, १ लाख ५५ हजार ४ सय ४३ वर्गमिटर निजी वन र ३४ हजार ३ सय २१ वर्गमिटर सामुदायिक वन डुब्ने वातावरणीय प्रभाव मूल्यांकनमा देखिएको छ ।
यो आयोजनाबाट ओखलढुंगाको चिसंखुगढी तथा खोटाङको रावाबेंसी गाउँपालिकाको बीचमा रहेको रबुवाघाटस्थित दुधकोसी नदीमा २ सय २० मिटर अग्लो बाँध बाँधेर जलाशय निर्माण गरिने भएको छ । भ्याटसहित करिब २ दशमलब २ विलियन युएस डलर लगानीमा सम्पन्न हुने अनुमान गरिएको यो आयोजनाबाट १३ किलोमिटर सुरुङ मार्ग हुँदै खोटाङको धितुङमा पानी खसालेर विद्युत् उत्पादन गरिने दूधकोशी जलाशययुक्त विद्युत आयोजनाका प्रमुख बसन्तध्वज श्रेष्ठले बताए ।
दूधकोशी जलाशययुक्त विद्युत् आयोजना सम्पन्न भएपछि वार्षिक ३ अर्ब ४४ करोड ३० युनिट ऊर्जा उत्पादने हुने विद्युत् प्राधिकरणले जनाएको छ । यो आयोजना चर्चा चलेको ३५ वर्षपछि निर्माण हुने घोषणाभएसँगै खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको प्रभावित क्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ । जतिसक्दो चाँडो आयोजना निर्माण थाल्न र अति प्रभावित क्षेत्रमा उचित मुआब्जा दिन खोटाङको रावाबेँसी गाउँपालिका ३ का स्थानीय एकबहादुर श्रेष्ठले बताए ।
बहुचर्चित दूधकोशी आयोजनाका लागि लगानी जुटाउन सरकारले अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत् प्राधिकरणले लगानी गर्न इच्छुक एशियाली विकास बैंक, युरोपेली लगानी बैंक, एशियाली पूर्वाधार लगानी बैंक, र कोरियाली एक्जिम बैंकका प्रतिनिधिसँग छलफल चलाइरहेकोे छ ।