संघीय प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवार संसदमा नीतिगत विषय उठान गर्ने सांसदका रुपमा परिचित छन् । उनले नीति जनजीविका, नागरिक अधिकारका सवाल संसद बैठकमा निरन्तर उठाइरहन्छन् । यसै क्रममा उनले गाउ“घरलाई खरको छाना मुक्त बनाउने प्रस्ताव अघि सारेका छन् । किन जिल्लालाई खरको छानामुक्त बनाउने त ? भन्ने विषयमा सांसद सुनुवारलाई गरिएको चार प्रश्नको जवाफ यहाँ प्रस्तुत छ ।
जिल्लालाई खरको छानामुक्त बनाउनु पर्ने प्रस्ताव ल्याउनुभो, यो अवधारणा कसरी आयो ?
यसका पछाडी दुई वटा कारण छन् । जति बेला निर्वाचनका क्रममा भोट माग्न दुर्गम गाउँका घरघर पुगेको थिएँ, त्यतिबेला मूलतः सामुहिक माग सडक, पानी र विजुली थिए । त्यसका अतिरिक्त धेरैजसो मतदाता, जसका घरका छाना खरका थिए, दुई चार वर्षमा फेरिरहनु पथ्र्यो, उहाँहरुको व्यक्तिगत माग भनेको छाना पनि जस्ताको लगाउन सकिएन भन्ने थियो ।
आर्थिक रुपमा पछि परेका समुदाय र व्यक्तिका घर नै खरका छानाका थिए । उनीहरुको आर्थिक स्थिति उकास्न सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा ल्याएको छ । क्रमश ती घोषणाहरु कार्यन्वयन गर्दै जानेछ । स्वरोजगार र रोजगारी दिने कुरा कार्यन्वयन चरणमै पुगेको छ । तर, तत्कालै गाउँका सबै नागरिक एकैसाथ आर्थिक रुपमा सबल बन्न सक्दैनन्, त्यस कारण उनीहरुको माग घरमा जस्ताको छाना हाल्ने विषय पुरा गर्नुपर्छ भन्ने मेरो मान्यता छ । र, अर्को चाँही ०७५ फागुन महिनायता ओखलढुंगा जिल्लामा मात्रै आगोलागीमा परेर १५ घर तथा मतान र पशु चौपाया समेत जले । करोडौंको क्षति भयो । यसरी आगोलागीमा परेका सबै घर खरकै छानाका थिए ।
घर वरिपरि लागेको आगोको झिल्का वा जंगलमा लागेको आगो घरै छेउमा आउँदा उडेर आएको आगोले घरहरु जले । जस्ताका छाना भएका घर वरिपरिकै पनि सुरक्षित भए । यसले आगोको जोखिमबाट बच्न पनि अब खरभन्दा जस्ता सयौं गुणा सुरक्षित देखियो । यस कारण पनि अब सुरक्षित आवाशका लागि ओखलढुंगा जिल्लाका घर खरका छानामुक्त बनाइनु पर्छ ।
टिनको छाना चाँही सुरक्षित हुन्छ त ?
शत प्रतिशत भन्ने चिज केही हुँदैन । तर, खरभन्दा टिन सयौं गुना सुरक्षित र टिकाउ हुन्छ । छाना हालेको दुई वर्ष नबित्दै फेर्ने समस्याबाट गुज्रनु पर्दैन । अर्कातिर ठूलो लापरवाही वा विद्युत सर्ट भएर हुने दुर्घटना बाहेक टिनको छाना सुरक्षित नै हो । तुरुन्तै अर्को घरमा आगो सरेर क्षति पनि भइहाल्दैन । यसले दुर्घटना भइहाले पनि नियन्त्रण गर्न सहज हुन्छ । यही कारण अब जिल्लाबासीका सबै घरलाई खरको छानामुक्त बनाउने प्रस्ताव ल्याएको हो ।
यसलाई स्थानीय सरकारका जनप्रीतनिधी, सांसदहरु र प्रदेश सरकारले समेत एक नीति लिने हो भने कार्यन्वयन गर्न समस्या पनि छैन । र यो अभियानमा छाना फेर्न नसक्ने घर परिवारलाई मात्रै सहयोग गर्ने हो । कतियपयले सक्षम भएर पनि खरकै छाना प्रयोग गरिरहनुभएको छ । उहाँहरुलाई पनि खरको छाना हावाहुरी, चट्याङ र आगो सबैबाट जोखिम भएको भन्ने बुझाउन जनचेताना पनि जगाउनु पर्छ ।
कसरी कार्यन्वयन हुन्छ ?
यो अभियान पुरा गर्न स्थानीय सरकार, सांसदहरु र प्रदेश सरकारको सहयोगमा संभव छ । एकैसाथ यो अभियान लैजादा स्थानीय तहबाट एकै वर्षमा सम्पन्न गर्न संभव नहुन सक्छ । त्यसैले चरण चरणबाट गर्न सकिन्छ । प्रदेश सरकारले यस्तो कार्यक्रममा बजेट विनियोजन गर्न सक्छ । दातृ निकायहरुले पनि सहयोग गर्न सक्छन् । सबै जिल्लाबासी एकजुट हुने हो भने यो मिसन पुरा गर्न समय नै लाग्दैन ।
तपाइको योजना चाँही के छ त ?
मैले अघि पनि भने कि जिल्लालाई खरका छानामुक्त बनाउने अभियानमा स्थानीय तहसँग घनिभूत छलफल गरेर यस सम्बन्धी नीति तथा कार्यक्रम बनाउन स्थानीय सरकारका प्रमुखहरुसँग छलफल शुरु गरिसकेको छु । यसबारे थप छलफल हुनेछन् । प्रदेश सरकारसँग यसबारे ध्यानकर्षण गराइनेछ । स्थानीय तहले बनाएका योजनामा सहयोग गर्न पहल गरिनेछ । सांसदका हिसाबले गर्न सक्ने सबै खाले सहयोग गरेर सबै स्थानीय तहलाई यो अभियान पुरा गर्न प्रोत्साहन गर्नेछु ।
सिद्धिचरण नगरपालिकाले त गरिबलाई टिनको छाना कार्यक्रम नै शुरु गरिसकेको छ । अन्य स्थानीय तहबाट पनि यस्ता कार्यक्रम शुरु गरेर यो अभियान पुरा गर्न सकिन्छ । सबैसँग छलफल भइरहेको छ ।