नेपाली कांग्रेसभित्र एकले अर्का नेताहरूलाई दोष दिएर उम्किने प्रयस भइरहेका छन् । एक महिने जागरण अभियानपछि नेपाली कांग्रेसले दोस्रो चरणको कार्यक्रम पनि सकिसकेको छ । १४औं महासचिवको कुरा पनि उठेका छन् । दुईतिहाइको बलियो कम्युनिस्ट सरकार निरंकुश बन्दै गएको चर्चा पनि छ । यी समग्र विषयमा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडासँग गरिएको कुराकानीको सम्पादित अंश
जागरण अभियानले कांग्रेसलाई के फाइदा भयो ?
जागरण अभियानले पार्टीलाई राम्रो फाइदा गरेको छ । धेरै पछाडि कांग्रेसलाई गाउँ, टोल, वडा, बस्तीमा पुर्याएको छ । कांग्रेस पुग्ने वातावरण सिर्जना गर्यो । कतिपय साथीहरूको गाउँमा मन मिलेको रहेनछ । आपसमा मनमुटाव रहेछ । त्यसलाई अन्त्य गर्ने काम भएको छ ।
सबै जिल्लामा गएर, महाविधेशन प्रतिनिधि, महासमितिका सदस्य, भातृ संगठनका प्रमुखहरू सबै भातृ संगठनहरू, शुभेच्छुक संस्थाका प्रतिनिधिहरू, जितेका र हारेका गाउँका नगरका गाउँपालिका र नगरपालिकाका अध्यक्ष उपाध्यक्ष, मेयर र उपमेयरका उम्मेदावरहरू सबैलाई राखेर छलफल गर्ने काम भयो । कांग्रेसको वस्तुगत स्थिति बुझ्ने अवसर पयौँ ।
अधिकांश ठाउँमा कांग्रेस आफ्नै कारणले गुटउपगुटले कमजोर भएको पाइयो । आफ्नै साथीले हराएको पाइयो । पार्टी मिलाउन नसकेका कारणले, टिकट वितरण, जात, वर्ष धर्म सम्प्रदायलाई पनि मिलाउन सकिएको रहेनछ । कांग्रेस कमजोर भएको महशुस हामीले पयौँ ।
त्योसँगै दुइटा पार्टीहरू एक भएर जाँदाखेरी त्यसको आँकलन र पूर्वानुमान हामीले गर्न सकेका रहेन छौँ । माओवादीसँग केही ठाउँमा हामी मिल्दाखेरी पार्टीभित्र ठूलो विवाद भयो । एमाले र माओवादी मिल्दा त्यसको फाइदा उनीहरूले लिए । तर हामीले त्यसको फाइदा लिन सकेनौँ । चिर्न सकेनौँ ।
तिनीहरू दुश्मन शक्ति किन मिले ? कारण के थियो ? जनताको बीचमा प्रष्ट्याउन सकेनौँ । ७० वर्षसम्म संविधानसभाबाट जारी हुन नसकेको संविधान हाम्रै पालामा जारी भयो । स्थानीय तहको निर्वाचन अरुले गराउन सकेनन् । हामीले सबै निर्वाचन गरायौँ । मधेसवादी दलहरूलाई हामीले संविधान मान्ने बनायौँ । संविधान जारी हुँदा वारी खाना खाएर पारी गएर ढुंगा हानेका थिए । तिनीहरूलाई संविधान मान्ने बनाएर संसदमा ल्याउन गरी चुनाव गरायौँ ।
हामीले संविधानलाई विजयी गरायौँ । स्थानीय तहलाई जनताको बीचमा पुर्याउन सफल भयौँ । यी कुराहरू जनताको माझमा बुझाउने अवसर प्राप्त भयो । गाउँका जनताको बीचमा सत्य कुरा पुगेको थिए । एक महिना सबै नेताहरू गाउँमा पुग्दा राम्रो सन्देश गएको छ । यसले गुट उन्मुलन गर्नुपर्छ । पार्टी रह्यो भने मात्रै गुट रहन्छ । त्योभन्दा पनि ठूलो कुरा देश हो ।
केन्द्रीय प्रतिनिधिहरूले रिपोर्ट पनि बुझाए । कार्यान्वयन होला र ?
हामीले यही कुरा केन्द्रीय सभापति, महामन्त्रीसहितका नेताहरूसँग बसेर दुुई दिनको छलफल गर्यौँ । रिपोर्ट ल्याउने केन्द्रमा थन्काउने चलन थियो । यस पटक रिपोर्टलाई बुकलेटमा तयार गर्ने, प्रशिक्षणमा जाँदा यी कुराहरूलाई लिएर जाने हो भनेका छौँ । भोलि त्यो रिपोर्टलाई जिल्लामा जानेहरूका लागि महत्वपूर्ण कार्य हुनेछ ।
हामीमा व्यक्तिवादी कुरामा हाबी भयो । कुन गुटको हो वा होइन त्यसलाई हेर्ने होइन बरु पार्टी कसरी दह्रो हुन्छ भन्ने सुझाव केन्द्रीय नेताहरूलाई बुझाइदिएका छौँ । नेताहरू पनि कन्भिन्स भएका छन् । गुटले मात्रै पार्टीमा सुधार हुँदैन । पार्टी बलियो भने हामी बलियो हुन्छौँ । पार्टी बलियो बनाउनेतिर लाग्नुपर्छ ।
कांग्रेसभित्र विवाद छताछुल्ल भएको छ । कसरी मिल्ला र कुरा ?
नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले विवादका कुरा बाहिर ल्याउनु हुँदैन । जहिले पनि विवादको कुरा भँगेरे अक्षरमा बाहिर ल्याइदिने गर्दा कार्यकर्तामा नराम्रो असर परेको छ । भित्र मिले जस्तो गर्ने बाहिर चाहिँ झगडै झगडा गर्ने प्रवृत्ति कांग्रेसमा छ । हुनुपर्ने भित्र झगडा गर्ने, बाहिर विवाद मिलाउनुपर्ने हुनुपर्छ । कांग्रेसभित्र मिल्ने बाहिर झगडा गर्ने चलन छ । भित्रका झगडा बाहिर नल्याउने हो भने कांग्रेस फेरि पनि ठूलो पार्टी बन्छ ।
जागरण अभियान होइन महाधिवेशन गर्नुपर्छ भन्ने कुरा बाहिर आएको छ नि ?
जागरण अभियानसँग संगठन बनाउन र महाविधेन गर्न कसैले रोकेको छैन । हिजोको दिनमा ३ हजार ९ सय १५ गाविसहरू थिए । अहिले त्यसलाई हामीले संघीय ढाँचामा काम फत्ते गरिदियौँ । प्रदेश समिति गठन गर्न सकेका छैनौँ । हामीले पार्टीलाई चिसो खानपाए हुने थियो । ७५३ वडाहरू छन् ।
केन्द्रीय कार्यसमितिले विधान संशोधन गरिसकेको छ । कार्यविधि र नियमावी बनाउने कार्य भइरहेको छ । यो पनि अधिवेशन नै हो । कमिटी गठन भइसकेपछि गाउँ र टोलमा गएर संगठनको कुरा गर्नुपर्छ । दश वटा झण्डा गोजीमा बाक्नुस् । कुनै रुपमा झण्डा टाँस्दै हिँड्दा पनि हुन्छ ।
सभापति शेरबहादुर देउवाले असन्तुष्ट नेताहरूलाई किन मिलाउन सक्नु भएन ?
सभापतिले पनि छाती ठूलो बनाउनुपर्छ । हारेकाले काम गर्ने अवसर पाउनुपर्छ । पार्टी दह्रो हुँदा शेरबहादुर देउवा पनि बलियो हुने हो । रामचन्द्र पौडेल, डा.शशांक कोइरालाको पनि बोली दह्रो हुन्छ । अवाजा सबैले सन्छन् । कृष्णप्रसाद सिटौला वा अन्यको पनि होला । पूर्णबहादुर खड्का, विमलेन्द्र निधिको गुट होला ।
पार्टी कमजोर भयो भने तपाईहरूको स्वर कसैले थुन्दैनन् । नता पर्नेलाई सदस्यता बाँडौला तर जनतामा नजित्ने सभापति भइयो भने के होला ? सभापति मात्रै होइन पार्टीनै ध्वस्त हुने अवस्थामा हामी जानु हुँदैन । सभापतिले पनि सबै असन्तुष्टहरूलाई समेट्नु पर्छ । अरुले पनि सभापतिलाई सयहोग गर्नुपर्छ । यो कार्यकाल सभापति देउवाले जितेको हो सहयोग गर्नुपर्छ भन्ने भावना राख्नुपर्छ ।
सरकार दुईतिहाइको छ । कांग्रेस चारैतिरबाट कमजोर भयो भन्नेछ नि ?
दुईतिहाइको पनि हामीले खुट्टी देखिसक्यौँ । एउटा फिस्टे चरो भुरर्र उडेर बाँसको टुप्पोमा आएर बसेछ । आमालाई भनेछ । आमा म भुररै उडेर बाँसको टुप्पोमा बसेको यो बाँसको टुप्पोले भुइँ छोयो । आमाले भनिछिन् तेरो खुट्टी हेरेर पत्याएँ । त्यस्तै दुईतिहाइको खुट्टी हामीले देखिसक्यौँ । उहाँहरू झन् अस्थव्यस्त छ । कांग्रेसले आफूलाई राम्रो बनाएर जानुपर्छ ।
कम्युनिस्ट सक्किएर हामीले जित्छौँ भन्ने मान्यता छाड्नु पर्छ । हामीले संगठन गर्नुपर्छ । कमजोर भएका छैनौँ । दुईतिहाइले राम्रो गर्न सकेन । नेपाली कांग्रेसले पनि राम्रो काम गर्नुपर्छ । पुराना साथीहरूको अनुभवलाई लिएर नयाँ साथीहरूलाई साथमा लिएर हिँड्न सक्यौ भने नेपाली कांग्रेस पहिलो पार्टी पनि बन्छ । प्रिय पनि बन्छ ।
दुईतिहाइको सरकारले रेल, पानीजहाज, पूर्वपश्चिम इलेक्ट्रिक रेल चलाउँदै छ । कांग्रेसले आलोचना मात्रै किन गर्ने ?
साझा यातायातको इलेक्ट्रोनिक बसमा चढेर पुल्चोकबाट प्रधानमन्त्री ओली सिंहदरबार आउनुभएको थियो । प्रधानमन्त्री आएको भोलिपल्टदेखि ती बस बिग्रिएको हामीले देखेका छौँ । चीनबाट नेपाल आउने रेलको अहिलेसम्म डिपिआर हुन सकेको छैन ।
झण्डै ३७ अर्ब त डिपिआरमा मालै लाग्दो रहेछ । त्यो पैसा समेत झिक्न नसक्ने सरकारले रेल ल्याउँछु भनेर कसैले पत्याउँदैन । ६ सय ५० किलो मिटर रेल चाइनाबाट नेपाल ल्याउनका लागि प्रतिकिलोमिटर हारेञ्जमा ४ अर्ब पचास करोड रुपियाँ लाग्दो रहेछ । ६ सय ५० किलो मिटर हुन्छ ।
सिगात्से–केरुङ–काठमाडौं रेल ल्याउन आजकै डलर मूल्यको हिसाव गर्दा २७ खर्बदेखि २९ खार्बसम्म खर्च छ २९ खर्ब रुपियाँ यो सरकारपालामा पनि केहो भन्न सकिँदैन । सपना बाँड्ने काम भएको छ । हामी नदीमा चढ्ने स्टिमरलाई पानीजहाज भनिएको रहेछ । नेपालमा अरु पानी जहाज आउने सम्भावना निकै कम छ ।
सुनिल थापा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा भारतसँग भएको सहमति पाइपलाइनबाट तेल ल्याउने कुरा अहिले आएर पूरा भएको छ । त्यसको न्वारन गर्ने काम खड्गप्रसाद ओलीले गरेका छन् ।
अपरतामाकोशी कसका पालामा शुरू भएको हो ? मध्य पहाडी सडक नेपाली कांग्रेसको पालामा शुरू भएको थियो । एक वर्षमा एक हजार बिजुली कसैले उत्पादन गर्न सक्थ्यो होला त ? यो सरकारले सक्दैन थियो । कांग्रेसले पूर्वाधाधार बनाइदिएकाले अहिलेको सरकारलाई सजिलो भएको छ । हामीले गरेका कामलाई उहाँहरूले प्रचार गर्ने काम गर्नुभएको छ ।
यो सरकारले कर बढाएको छ । राजश्व बढेको छ । जनताको आय वृद्धि भएको छ । सरकारले राम्रो गरेको छु भनेर दाबी गरेको छ ?
कर बढेको मन्त्रीलाई गाडी किन्न र ल्यापटम किन्न हो ? मोबाइल बाँड्नको लागि हो ? जनतासँग राजश्व लिएर हुँदैन । गतसाल १३ खर्बको बजेट आएको थियो । अहिले १५ खर्बको बजेट आएको छ । त्योपनि कुन काममा केमा प्रयोग भयो हामीले देखेकै छौँ ।
कतिपय विलासी सामानहरू किन्न खर्च भएको छ । कहिले राष्ट्रपति हेलिकप्टर किन्न, कहिले राष्ट्रपतिलाई गाडी किन्न, कहिले संसद सचिवालयमा गाडी हुँदाहुँदै नयाँ गाडीहरू किन्न, प्रदेशमा त्यस्तै गाडीहरू किन्नको लागि कर बढाइएको छ ।
विचार गोष्टीमा, वादविवाद प्रतियोगितामा फलानो जागरण कार्यक्रममा पैसा खर्च गरेर मुलुकको सम्पत्ति ध्वस्त गर्न पाइँदैन । यस्ता काम बन्द गरेर सरकारले जनतालाई राहत हुने कामहरू गर्नुपर्छ ।
विकासको पूर्वाधार तयार पारिनुपर्छ । विजुली, बाटो, खानेपानी, शिक्षा गाउँमा पुग्नुपर्छ । यस्ता कुरा नगर्ने । बकमफुसे कुरा गरेर जनता आकर्षित हुँदैनन् । कर जनतालाई बढाउने र जनतालाई दुःख दिने काम भएको छ ।
युवाहरूलाई विदेश काम गर्न जान नदिएर स्वदेशमै रोजगारी दिएको सरकारको किन आलोचना गर्नु हुन्छ ?
श्रमिकहरू विदेश जान पाएका छैनन् । मलेसिया मानिसहरू जान नपाएर कतार र दुबईमा मान्छेहरू गएका छन् । अरबमा मान्छेहरू गएका छन् । मान्छे धेरै पनि त्यही मारिएका छन् । अरबमा राम्रो अबसर छैन ।
मन्त्रीको स्वार्थमा मलेसिया रोजगारीमा पठाउने काम रोकिएको छ । २–३ लाख युवाहरू रोजगारीका लागि मलेसिया जान पाएका छैनन् । मन्त्रीको व्यक्तिगत ईगोले गर्दा मलेसिया रोकिएको छ । कमिशन खान पाइन्छ कि पाइँदैन भनेर काम रोकिएको छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि प्रधानमन्त्रीका तस्वीर भित्ताभित्तामा टाँसियो । आज त्यसको दुरुपयोग भएको छ । त्यसमा भ्रष्टाचार भएको छ । श्रम ऐन लागू गर्ने विषयमा प्रधानमन्त्रीको फोटो लागू गरियो विभिन्न बहाना बनाइयो । ९ लाख उद्योगधन्दाहरू दर्ता भएका छन् । यो कार्यक्रमका लागि झण्डै ३ हजार ७ सयले मात्रै निवेदन दिएका छन् ।
यो कार्यक्रममा ३ प्रतिशत पनि दर्ता भएका छैनन् । तामझामसहित कार्यक्रम गरियो । यो कार्यक्रम पूर्ण रुपमा असफल भएको छ । पोलमा प्रधानमन्त्रीको फोटो टाँसियो । तर, उपलब्धी केही भएन । सरकार हरेक ठाउँमा असफल भएका बेला सफल र सुदृढ कांग्रेस बनाउनुपर्छ ।
सरकारका कार्यक्रममा नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहरी भएर किन हेर्छ ?
हामी कोहीसँग पूर्वाग्रही छैनौँ । राम्रा काम भयो भने मेरो स्वाभीमान बढ्छ । म राम्रो देशको नागरिक बन्छु । जनताले मलाई सम्मान गर्छन् । हामी सबैलाई सम्मान गर्छन् । एउटा पनि मन्त्रीले राम्रो गरेका छैनन् । मन्त्रीहरू छाडा भएका छन् । मन्त्रीले तेल बेचेका छन् । मन्त्री क्वाटरमा बसेर डेरा भाडामा लिएका छन् । मन्त्रालयबाट दोहोरो सुविधा लिन्छन् । यस्तो अराजकता कहिल्यै भएको थिएन ।
राष्ट्रिय सभाको अध्यक्षले ड्राइभरको तलव आफै बुझ्छ । गार्डको तलव आफैले बुझ्ने । सभामुखको तलव भत्ता वृद्धि गर्ने । जे पायो त्यही गर्ने । लिफ्ट नाममा संसद सचिवालयमा लाखौँ रुपियाँ अनियमितता भएको छ । राष्ट्रिय सभाको अध्यक्ष बस्ने घरमा बदमासी भयो भन्ने कुरा आएको छ । यी सबै कुरा हेर्दा देश अफ्ठ्यारो अवस्थामा छ । सबैतिर भ्रष्टाचार छ ।
दुईतिहाइको सरकारले राम्रोसँग शान्ति सुरक्षा दिएको छ नि ? त्यो त मान्नु हुन्छ ?
संसदमा नेकपाकी एकजना सांसद कराइन् । मलाई लुटियो, कुटियो, मेरो सुरक्षा भएन, म सांसद हुँ भनिन् । तिनी सांसद अहिले कुनै एउटा समितिको सभापति छिन् । अहिलेसम्म त्यसको रिपोर्ट आएको छैन । उनलाई ठगीका नाममा कारबाही गरिएको छ । ती ठगिएकाहरूले आएर तर्साएका रहेछन् । यस्तो बिडम्बनापूर्ण अवस्थालाई राम्रो छ भनेर कसरी भन्ने ।
प्रधानमन्त्रीले काठमाडौं उपत्यका धुलो धुँदा मुक्त भयो भन्नु भएको छ । कांग्रेसको यसमा पनि विरोध किन ?
प्रधानमन्त्रीले होलिवाइन खाँदाखेरी तीनदिनसम्म सोल्टी होटेलमा लम्पसार परेर सुत्नु भयो र एकलाख डलर लिनुभयो । सोल्टीबाट प्रधानमन्त्री निवास बालुवाटार आउन सक्ने अवस्था रहेछ उहाँको । अनि बाहिर अवस्था के रहेछ भन्ने कुरा उहाँले भनेर हुन्छ ।
एकजना माननीयले मास्क लगाउनु पर्छ कि पर्दैन भनेर मेरो स्कुटरको पछाडि बसेर कमसेकम बालाजुसम्म जानुहोस् भनेर प्रधानमन्त्रीलाई भन्नुभएको छ । आजसम्म त्यसका जवाफ प्रधानमन्त्रीले दिनुभएको छैन । कुन दिन तपाई मास्क लगाएर हिँड्नु भयो भने यो मेरो सत्रु रहेछ पुलिसलाई समातेर थुन भन्नु होला भन्ने पिर भइसक्यो ।
तर, प्रधानमन्त्रीले अहिलेसम्म त्यस्ता कुनै पनि कामहरू जनतालाई राहत हुने काम गर्नुभएको छैन । चावहिल, बौद्ध, जोरपाटीमा गएर हेरे हुन्छ । सिंहदरबार र बालुवाटार जाने बाटोमा गाडी नचढेर हिँडे हुन्छ देखि हाल्नु हुन्छ । हुन त उहाँलाई स्वास्थ्य हिँड्न दिँदैन ।
हिँड्न पनि सक्नु हुन्न होला । कमसेकम एक दिन हिँडेर हेर्नुस् के रहेछ अवस्था थाहा पाउनु हुनेछ । बालुवाटारभित्र मास्क लगाउनु पर्दैन एसी भएको गाडीभित्र लगाउनु पर्दैन कालो सिसा लगाएको छ । बाहिर धेरै कुरा देख्नु हुन्छ कालै देख्नु हुन्छ । त्यसैले कालो सिसाले गर्दा बाहिर धुलो उडेको उहाँले देख्नु हुन्न ।