ओखलढुंगा । प्रहरी जवानलाई कुटपिट गर्ने ओखलढुंगाका एक आपराधिक समूहमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। दशैँ मनाउन घर जाँदै गरेका ताप्लेजुङमा कार्यरत प्रहरी जवान विनोद परियार र उनका भाइ निरकुमार परियारलाई मरणासन्न हुने गरी कुटपिट गर्ने विवेक तामाङसहित अन्य ६ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको हो।
श्रीमती र बच्चासहित गत असोज १९ गते महाअस्टमीको दिन झापादेखि ओखलढुंगासम्म पुगेका परियारका दाजुभाइलाई मिलनचौक देखी स्थायी घर चिशंखुगढी गाउँपालिका पोखरेसम्म जाने क्रममा सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि गाडीबाट झारेर उनीहरूले कुटपिट गरेका थिए।
कुपटिपबाट परियार दाजुभाइको आँखा, टाउको लगायतका शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। विनोद झापाबाट आएर मिलनचौकमा ओर्लिए। पोखरेको गाडी चढ्ने क्रममा युवाहरूको समूहले विनोदका श्रीमतीलाई जिस्काएपछि उनिहरुबीच विवाद सुरु भएको थियो। विवाद पछि विनोदले तामाङको समुहलाई प्रहरीमा बुझाइ दिए। विवाद मिलेपछि विनोद आफ्नो परिवारसहित स १ ज ५५२ नम्बरको गाडीमा चडेर घर तिर लागेका थिए।
तर सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि केटाहरूले गाडी रोकेर प्रहरी जवान विनोद र उनका भाइ निरकुमारलाई बाहिर निकाली मरणासन्न हुने गरी कुटपिट गरेर झन्डै २० मिटर तल झाडीमा फ्याँक्दिएको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले बताए।
विनोदका श्रीमतीले आफ्ना श्रीमान र देवरमाथि कुटपिट भएको भन्दै प्रहरीमा खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारमा लगेको प्रमुख मल्लको भनाई छ। परियार दाजुभाइमाथि मुक्का, रड, ढुङ्गा लगायत बस्तु प्रहार भएको प्रहरीको अनुमान छ।
कुटपिटमा १० देखी १२ जना युवाहरूको संलग्नता रहेको भए पनि ६ जना पक्राउ परेको र अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
यता पीडित पक्षले भने दोषीलाई हदैसम्म कारवाही र क्षतिपुर्तिको माग गरेका छन्। पीडितले कुटपिटमा संलग्न सबैलाई पक्राउ गरि कारवाहीको माग गरेका हुन्।