ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाले सरकारलाई दबाब दिँदै आज ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगामार्फत कांग्रेसले सरकारलाई २२ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
उपसभापति तेजेन्द्र खनालको अगुवाईमा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलमार्फत सरकारलाई बुझाइएको ज्ञापनपत्रमा कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा सरकारलाई दबाब दिइएको छ । ज्ञापनपत्रमा कोरोना सङक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जनताको सरोकार र आवश्यकताका बिषयलाई सम्बोधन गर्न सरकारले तत्काल चाल्नुपर्ने कदमका सम्बन्धमा ध्यानाकर्षण गराइएको छ ।
कोरोना महामारीको बिषम परिस्थितिमा पनि सरकारले स्वास्थ्य सामग्री खरिद तथा व्यवस्थापन खर्चमा भ्रष्ट्राचार गरेको, जनताको जनजीवनबारे महत्व नदिएको, जनताको स्वास्थ्यसँग खेलवाड गरेको र बलात्कार तथा हत्या जस्ता अपराधिक गतिविद्यिलाई समेत नियन्त्रण एवं व्यवस्थित गर्न नसकेको कांग्रेसले ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझाउने देशव्यापी कार्यक्रम अन्तर्गत हस्तान्तरण गरिएको ज्ञापनपत्रमा कांग्रेसले महिला, बालबालिका, गर्भवती तथा अपाङ्गता भएका व्यक्तिहरुलाई ध्यानमा राखी सुरक्षित क्वारेन्टाइनहरुको उचित व्यवस्थापन गर्नुपर्ने, कोरोना परीक्षणको दायरा बढाउनुपर्ने माग राखेको छ ।
त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुको सीप तथा दक्षतालाई उत्पादनमुलक कार्यमा लगाउनुपर्ने, लकडाउन प्रभावित वर्गका लागि दोश्रो चरणको बिशेष राहत प्याकेजको व्यवस्था मिलाउनुपर्ने, लकडाउन अवधिभरको ब्याज तथा कर मिनाह गरी उद्योगी व्यवसायीलाई राहत प्रदान गरिनुपर्ने, विभिन्न स्थानमा रहेका क्वारेन्टाइनहरुमा थप चिकित्सकीय जनशक्तिको व्यवस्था मिलाउनुपर्ने, तत्कालै मोरङ्गमा १ हजार शैयाको सुविधा सम्पन्न आईसोलेसन वार्डको व्यवस्था मिलाउनुपर्ने र लकडाउन अवधिमा विद्यार्थीहरुले तिर्नुपर्ने शैक्षिक शुल्क मिनाह हुनुपर्ने लगायतका मागहरु समेटिएका छन् ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा ओखलढुंगा कांग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।