ओखलढुंगा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ओखलढुंगाले स्थानीय तहका क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधि वितरण गरेको छ । केन्द्रले सिद्धिचरण नगरपालिका, चम्पादेवी गाउँपालिका, मोलुङ गाउँपालिका, लिखु गाउँपालिका र सुनकोसी गाउँपालिकामा औषधि वितरण गरेको हो ।
केन्द्रले अस्वगन्धा र अमलाको चुर्ण तथा गुर्जो, अमला, तेजपत्ता, टिम्बुर, बेसार, मरिच, ल्वाङलगायतका जडीबुटी मिश्रित चिया वितरण गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक उद्दव भट्टराईले बताए । स्थानीयस्तरमा संकलित जडीबुटीबाट तयार गरिएको चुर्ण र चिया वितरण गरिएको उनको भनाई छ ।
केन्द्रले चैत २३ गतेदेखि फिवर क्लिनिक समेत सञ्चालन गरेको जनाएको छ । साथै सो क्लिनिकमा सेवा लिन आउने विरामीहरुलाई पनि चुर्ण र चिया वितरण गर्ने गरिएको केन्द्रका प्रमुख डा निरज खतिवडाले बताए । केन्द्रले वितरण गरेको औषधिले रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै कोरोनालगायतका अन्य संक्रमणबाट बच्न समेत सहयोग पुग्ने खतिवडाको भनाई छ ।
केन्द्रले कोरोना भाइरसको महामारीको बेला शरीरमा रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) वृद्धि गर्नका लागि नियमित व्यायाम, योगाभ्यास, प्राणायामद्वारा तनाव व्यवस्थापनका साथै घरमा मसलाको रुपमा प्रयोगमा आउने लसुन, अदुवा, मरिच, पिप्ला, ज्वानो, बेसार, टिमुर, तेजपत्ता, दालचिनी, ल्वाङ र वरपर पाइने जडीबुटीहरू तुलसी, असुरो, अमला, भुइँ अमला, जेठी मधु, पुदिनालाई चियाको रुपमा पकाई एक चिया गिलासको दरले दिनमा २ देखि ३ पटक सेवन गर्न आह्वान गरेको छ ।