ओखलढुंगा । भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई राख्नका लागि प्रदेश सरकारले चतरामा सञ्चालन गरेको होल्डिङ सेन्टरको विकल्पमा ओखलढुंगाको हर्कपुरमा होल्डिङ सेन्टर बनाउन पहल थालिएको छ । ओखलढुंगासहित माथिल्लो सगरमाथाका पहाडी जिल्लाका लागि चतरामा तोकिएको होल्डिङ सेन्टर अपायक भएपछि त्यसको विकल्प खोजिएको हो ।
चतराको होल्डिङ सेन्टर अपायक भएको विषयमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले प्रदेश सरकारसँग पत्राचार समेत गरिसकेको छ । चतरा भूगोलका हिसाबले अपायक र खर्चका हिसाबले पनि खर्चिलो भएकोबारे संघ र प्रदेश सरकारलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । 'प्रदेश सरकारले हर्कपुरलाई होल्डिङ सेन्टर बनाउनका लागि छलफल चलाइसकेको छ,' प्रजिअ पौडेलले भने, 'तर औपचारिकरुपमा भने जानकारी आएको छैन ।'
भारत तथा तेस्रो मुलुकबाट आएका माथिल्लो सगरमाथा क्षेत्रका व्यक्तिहरुलाई अहिले सोझै चतराको होल्डिङ सेन्टरमा लगेर राखिँदै आएको छ । प्रदेश सरकारले सम्बन्धित व्यक्तिका परिवार वा सम्बन्धित गाउँपालिकालाई मात्रै होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई बुझाउने गरेको छ ।
चतराको होल्डिङ सेन्टरमा राखिँदा व्यक्तिको दोहोरो खर्च हुने र गाउँपालिकासम्म ल्याउन असहज हुन थालेपछि विकल्पमा मानेभञ्ज्याङको हर्कपुरस्थित हर्कपुर माविमा होल्डिङ सेन्टर बनाउने पहल थालिएको ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले ओखलढुंगाखबरसँग बताए । 'मैले संघ र प्रदेश दुवै सरकारसँग होल्डिङ सेन्टर बनाउनेबारे पहल गरेको छु,' सांसद सुनुवारले भने, 'हर्कपुरमा बनाइने होल्डिङ सेन्टरमा विदेशबाटै कोरोना परीक्षण भएर आएका ओखलढुंगा, खोटाङ र सोलुखुम्बु व्यक्तिहरूलाई राख्ने योजना बनाइएको छ ।'
अहिले विदेशबाट जिल्ला फर्केका व्यक्तिहरु चतरा पुगेर अलपत्र हुने अवस्था आइरहेको छ । उनीहरूलाई जिल्लाका स्थानीय तहसम्म ल्याउन समेत समस्या भइरहेको छ । यस्तो समस्या समाधानका लागि ओखलढुंगाका पूर्व सांसद रामहरि खतिवडाले पनि हर्कपुरलाई होल्डिङ सेन्टर बनाउन पहल गरिरहेको बताए । 'मैले केन्द्र र प्रदेश दुवै सरकारसँग चतरा अपायक भयो, व्यक्तिले धान्न सक्ने अवस्था भएन भनेर धेरै अगाडिदेखि पटक पटक भनिरहेको छु,' खतिवडाले भने, 'हामीलाई हर्कपुरलाई होल्डिङ सेन्टर तोकियो भने सहज हुन्छ ।'