ओखलढुंगा । मान्छेलाई पीडा हुन्छ नै । तर ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं २ लामीडाँडाकी गीता दर्जीको जस्तो पीडा कसैलाई नहोस् ।
उनका ५ बहिनी छोरीमध्येकी ११ वर्षीया काँइली छोरी मनिला दर्जी दुवै मिर्गौला फेल भएर बितिन् । ३ वर्ष अघिको त्यो घटना निकै दर्दनाक थियो । मिर्गौला फेल भएकी छोरीलाई बचाउन उनी ओखलढुंगादेखि काठमाडौँका सबैजसो अस्पताल चहारिन् । भएभरको सबै सम्पति बेचिन् । तर पार लागेन । हुने हार दैव नटार भनेझैँ उनले काँइली छोरी मनिलालाई गुमाइन् ।
अहिले फेरि गीतालाई उस्तै पीडा दोहोरिएको छ । उनकी १८ वर्षीया माइली छोरी सुनिता दर्जी दुवै मिर्गौला फेल भएर छट्पटाइरहेकी छिन । सुनिताको २०७२ सालदेखि नै मिर्गौलामा समस्या आएको थियो । तर अहिले समस्या बढ्दै गएको छ । गाउँदेखि ओखलढुंगा सदरमुकाम र काठमाडौँका स्वास्थ्य संस्था र अस्पतालमा गीताले उपचारका लागि सुनितालाई पुर्याइसकिन् । समस्या बढ्दै गएपछि औषधिले काम गर्न छाडेको छ । 'अहिले काठमाडौँमै सानो कोठा खोजेर छोरीलाई हप्तामा २ पटक डाइलासिस गराइरहेकी छु,' गीताले भनिन्, 'छोरीको समस्या झन् बढ्दै गएकाले चिन्ता लागेको छ ।'
सुनिताको डायलासिस गर्न हप्तामै ११ हजारजति खर्च हुने गीताले सुनाइन् । खान बस्न र औषधिको त कुरै छाडौँ । आर्थिक अवस्था ज्यादै कमजोर भएकी गीताले धन्न ऋणपान गरेर यतिञ्जेल धानिरहेकी छिन् । उनलाई सहयोगका नाममा मोलुङ गाउँपालिकाले १० हजार रुपैयाँ दिएको छ । 'भएको २/३ रोपनी खरबारी पनि बेचियो, २/३ रोपनी बारी थियो त्यो पनि बेचियो,' उनले भनिन्, 'अब घर बेच्न बाँकी छ ।'
सुनिताको मिर्गौला फेर्नका लागि ८-१० लाख रुपैयाँ लाग्छ भन्ने गीताले सुनेकी छिन् । डाक्टरहरुले मिर्गौला नफेरे सुनितालाई बचाउन सकिँदै भनेर भनेका छन् । तर त्यतिका पैसा जुटाउन गीताका लागि असम्भव नै हो । 'आफ्नी छोरी बचाउन पाए हुन्थ्यो जस्तो कसलाई लाग्दैन र ?' गीताले भनिन्, 'कसैको दया पलाउँछ भने सहयोगको पर्खाइमा छु ।'
दुवै मिर्गौला फेल भएर काँइली छोरी गुमाउँदाको पीडा, दुवै मिर्गौला फेल भएर माइली छोरी ओछ्यानमा छ्ट्पटाउँदाको पीडा कस्तो हुन्छ भनेर गीतालाई मात्रै थाहा छ । यो पीडा उनले आज मात्रै होइन । ६ वर्षदेखि भोगिरहेकी छिन् । कहिलेकाहीँ त उनको मनमा भक्कानो छुटेर आउँछ, रून्छिन्, फेरि सम्हालिन्छिन् ।
सहयोगको खाँचो
मिर्गौला पीडित छोरीहरू बचाउनका लागि गीताको संघर्ष समान्य छँदै छैन । यही संघर्षकै बीच उनले काँइली छोरीलाई गुमाइन् । माइली छोरी छट्पटाइरहेकी छिन् । उनलाई अहिले सहयोगको खाँचो छ । हाम्रो सानो सहयोगले उनकी छोरीको जीवन बाच्न सक्छ । त्यसैले आउनुस् सहयोग गरौँ । सहयोगका लागि सोझै गीता दर्जीलाई ९८६३९१७२२८ मा सम्पर्क गर्न सकिन्छ । अथवा ओखलढुंगाखबरडटकसँग ९८४२४८३०३५ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिनेछ ।