ओखलढुंगा । ओखलढुंगा होटल व्यवसायी संंघले जिल्लामा सञ्चालित होटल व्यवसायको लकडाउन अवधिको भाडा पूर्णरूपमा छुट गर्ने व्यवस्था मिलाउन तीनैतहको सरकारसमक्ष माग गरेको छ । आज जिल्ला प्रशासन कार्यालय ओखलढुंगामार्फत एक ज्ञापनपत्र बुझाउँदै संघले लकडाउनले जिल्लाका होटल व्यवसायीहरूलाई मार परेको भन्दै यस्तो माग गरेको हो ।
ज्ञापनपत्र संघका अध्यक्ष थगेन्द्रराज राईसहित होटल व्यवसायी संघको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल समक्ष बुझाएका हुन् । ज्ञापनपत्रमा लकडाउन अवधिको भाडा पूर्णरूपमा छुट र संक्रमणकालको भाडा ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्न माग गरिएको छ । १३ बुँदे ज्ञापनपत्रमा भ्रमण वर्षलाई लक्षित गरि जायजेथा धितोमा राखेर व्यवसाय थालेका होटल व्यवसायी लकडाउनका कारण मारमा परेको उल्लेख गरिएको छ । ज्ञापनपत्रमा व्यवसाय सञ्चालन गरेर रोजगारदाता बनेका होटल व्यवसायीलाई लकडाउनले मासिक घरभाडा, बित्तीय संस्थाको किस्ता, ब्याज, कर्मचारीको तलब, एवं पारिश्रमिक, विजुली, पानी, फोहोर संकलन, टेलिफोन, इन्टरनेटलगायतको महशुल आदि शीर्षकको रकम तिर्न समस्या भएको उल्लेख गरिएको छ ।
हेरौं ज्ञापनपत्र जस्ताको तस्तै
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यलय ओखलढुङ्गा ।
विषय ः – ज्ञापन पत्र सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा जिल्लाभर रहेका सम्पूर्ण होटलहरुको छाता संगठनको रुपमा रहेको होटल व्यवसायी संघ ओखलढुङ्गा, नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृत प्राप्त एक गैह्रसरकारी सामाजिक संस्था हो । सम्बन्धित क्षेत्रका व्यवसायीहरुको हकहित एवंम प्रर्वद्धन गर्दै स्तरिय सेवामा सचेत रही राज्य प्रतिको कर्तव्य एवमं उत्तरदायित्व प्रति सदैव जिम्मेवार रहेको कुरा जानकारी गराउन चाहन्छौं । विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोभिड–१९ कोरोना भाईरसले विश्व अक्रान्त बनिरहँदा देशव्यापी रुपमा विगत ३ महिनादेखि जारी लकडाउनलाई पूर्ण रुपमा पालना गरी राज्यको नीति निर्देशनलाई सहजिकरण गर्दै सहयोग पुर्याउदै आईरहेका छौं । नेपालमा जम्मा (१) एक जना कोरोना संक्रमित भेटिंदा शुरु गरिएको लकडाउन अहिले ३ महिना पूरा भई सकेको छ । तैपनि संक्रमण रोकिनुका साटो दिनानुदिन संक्रमितको संख्या बढ्दै गईरहेको छ । एकातिर कोरोना भाईरसको कारण हरेक व्यक्ति त्रसित हुन थालेका छन् । अर्कोतर्फ सरकारद्धारा जारी लक डाउनको कारण होटल व्यवसायीहरु व्यवसाय बन्द गरेर महिनौदेखि घरभित्र थुनिएर बस्नु पर्दा तहस नहस भएका व्यापार व्यवसायका कारण कतिपय व्यवसायीहरु यस क्षेत्रबाट पलायन हुन थालिसकेका छन् । पछिल्लो समयमा सरकारले नै घोषणा गरेको पर्यटन भ्रमण वर्ष २०२० मा भारत तथा तेश्रो मुलुकबाट आउन सक्ने संभावित पर्यटकहरुलाई लक्षित गरी आफ्नो सम्पूर्ण चल अचल सम्पति जायजेथा वितिय संस्थाहरुमा धितो राखेर आत्मनिर्भर एवंम स्वरोजगार बन्न उत्साहको साथ होटलमा लगानी बढाएका व्यवसायीहरु यत्तिखेर हतोत्साही बनेका छन । व्यवसाय संचालन गरेर स्वयं स्वरोजगार बनेका तथा यस क्षेत्रमा आवद्ध कर्मचारी स्टाफहरुको लागि रोजगारदाता बनेका व्यवसायीहरुलाई मासिक घर भाडा वित्तिय कर्जाको किस्ता तथा व्याज कर्मचारीहरुको तलब एवंम पारिश्रमिक, विजुली, पानी, फोहोर संकलन, टेलिफोन, इन्टरनेट आदिको महशुल आदि शिर्षकको आर्थिक संकटले एकैचोटी थङ्गथिलो पारी अक्रान्त पार्दा कतिपय व्यवसायीहरु आत्महत्या सम्म गर्ने नकारात्मक मनस्थितिमा पुग्न सक्ने देखिन्छ । देशकै लागि आर्थिक मेरुदण्डको रुपमा रहेको होटल तथा पर्यटन व्यवसाय अहिले पूर्णविराम लाग्ने अवस्थामा पुगिसकेको छ । पर्यटनको मूल आधारको रुपमा रहेको होटल व्यवसाय यसरी धराशयी बन्न पुग्दा सिंगो देशकै अर्थतन्त्रमा दिर्घकालिन नकारात्मक असर पर्न सक्ने कुरा निश्चित प्रायः छ । होटल तथा पर्यटन क्षेत्रका व्यवसायीहरुले भोगिरहेका विकराल समस्याहरुको बारेमा हामीले यस अघि मिति २०७७÷०२÷२९ गते लिखित रुपमै १० वटा बुँदाहरुमा समस्याहरु लेखि राज्यको ३ वटै तहका सरकार प्रमुख समक्ष पुग्ने गरी यसै जिल्ला प्रशासन कार्यलय ओखल्ढुङ्गा मार्फत लिखित रुपमै यस होटल व्यवसायी संघ द्धारा ध्यानाकर्षण पत्र पठाएका थियौं । तर दुर्भाग्य नै भन्नुपर्ला राज्यको ३ वटै तहहरुबाट होटल तथा पर्यटन क्षेत्रको कुनै समस्या समाधानको सम्वोधन हुन सकेन । तसर्थ ः यहि मिति २०७७ असार १९ गतेका दिन बसेको होटल व्यवसायी संघ ओखल्ढुङ्गाको कार्य समिति बैठकको निर्णय अनुसार फेरि पनि निम्न लिखित बुँदाहरुमा हाम्रो माग र समस्याहरुको विषयमा श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू लगायत सम्बन्धित निकायहरुमा यसै ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउन चाहन्छौं ।
हाम्रा मागहरु ः–
१. वर्तमान अवस्थामा होटल व्यवसायीहरु सबैभन्दा बढी घरभाडाको मारमा परेकाले यस लकडाउन अवधिभरको घरभाडा पूर्ण रुपमा छुट र संक्रमणकाल रहुन्जेल सम्मका लागि ५०% छुटको व्यवस्था गर्न आग्रह गर्दछौँ । साथै उक्त छुटका लागि घरधनीहरुलाई समेत राहत पुग्ने गरी घरधनीहरुको बैंकको कर्जा भुक्तानी समयावधि थप गर्नुका साथै उनीहरुले तिर्ने घरबहाल कर र बैंकको ब्याज छुट तथा अन्य करहरु समेत छुट गर्नका लागि स्थानीय निकायसँगको समन्वयमा विशेष राहत कोष मार्फत सम्बोधन गरेर वातावरण सहज बनाउने व्यवस्था मिलाईयोस् ।
२. हाम्रो व्यवसाय अरु व्यवसाय जस्तो लकडाउन खुल्नासाथ पहिलेकै अवस्थामा जसरी सुचारु भई सामान्य अवस्थामा आउने व्यवसाय नभएको र संक्रमण अवधिभर नै व्यवसायमा भारी असर पर्ने हुँदा बिजुली पानीको महशुल कम्तिमा १ वर्षका लागि छुट र टेलिफोन, इन्टरनेट
लगायतका महशुलमा विशेष सहुलियतको व्यवस्था मिलाईयोस् ।
३. अहिलेको महामारीले सबैभन्दा बढी असर पारेको यस क्षेत्रका व्यवसायीहरुलाई राहतस्वरुप एक (१) वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गरिदिने व्यवस्था मिलाइयोस् ।
४. यस क्षेत्रमा संलग्न व्यवसायीहरुले बंैक र वित्तीय संस्थाहरुबाट लिएको ऋणको ब्याज र किस्ता तिर्ने मुख्य श्रोत यही व्यवसाय मात्र भएको हुँदा जुनसुकै शीर्षकमा क्रृण लिएको भए पनि
उक्त ऋण तिर्ने समयावधि कम्तिमा २ वर्ष थप गरी उक्त अवधिभरको ब्याजमा सहुलियत दर कायम गराई साँवामा मिलाईदिने व्यवस्था गरियोस् ।
५. यस क्षेत्रका व्यवसायीहरुले राज्यबाट अहिलेसम्म कुनै पनि किसिमको व्यवसायिक सुविधा नपाएकाले तत्कालका लागि चालु व्यवसायलाई नै धितोको रुपमा मूल्याङ्कन गरी न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइयोस् ।
६. वर्तमान विषम परिस्थिति पश्चात् पनि व्यवसायलाई सहज रुपमा सञ्चालन गर्नका लागि न्यून ब्याजदरमा क्यात ीयबल को व्यवस्था गरियोस् ।
७. बैदेशिक रोजगारीमा गएर विदेशबाट आउने नेपालीहरुलाई सस्तो दर रेटमा उपलब्ध होटल छाडी महँगो दर रेटमा तारे होटलहरुमा बस्न किन बाध्य पारियो ? यस विषम परिस्थितिमा राज्यका तर्फबाट होटल व्यवसायीहरु बीचमा पनि कसैलाई काखा र कसैलाई पाखा गर्ने खालको व्यवहार हुनुले हामी व्यवसायी अत्यन्तै दःुखित छौँ । यस प्रति सरकारको गम्भीर ध्यान जाओस् ।
८. खाडी तथा मलेशियाबाट आउने नेपालीहरुलाई क्वारेन्टाईनको नाउँमा उनीहरु कै खर्चमा जबर्जस्ती तारे होटलमा महँगो रेटमा बस्न बाध्य पारिएको छ । उक्त निर्णयमा तत्काल पुनःर्विचार गरी उनीहरुलाई आ–आफ्नो ईच्छा र आर्थिक स्तर अनुसारका होटलहरुमा क्वारेन्टाईनका लागि बस्न पाउने अधिकार प्रदान गरियोस् ।
९. राज्यले अत्यावश्यक सेवामा राखेको तर लामो समयदेखि बन्द रहेका होटल व्यवसायलाई सरकारले जारी गरेको मापदण्ड अनुसारका सावधानीहरु अपनाएर व्यवसाय खोल्न पाउने व्यवस्था तुरुन्त लागु गरियोस् ।
१०. लकडाउनका कारण यस क्षेत्रबाट बिस्थापित भई बेरोजगार भएका श्रमिक तथा मजदुरहरुलाई पुर्नःताजगी तालिमको व्यवस्था गरी रोजगारीको अवसर सिर्जना गरियोस् ।
११. मूलतः पर्यटनको मूल आधार तथा सार्वजनिक प्रकृतिको सेवा प्रदायक व्यवसायको रुपमा रहेको होटल व्यवसायमा हुन सक्ने संक्रमणको जोखिम र त्यसको न्यूनिकरणका लागि आवश्यक पर्ने स्वास्थ्यसँग सम्बन्धी सामाग्रीहरु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था गराईयोस् ।
१२. संक्रमणको जोखिम बढ्दै जाँदा वर्तमान लकडाउनको अवस्था लम्बिदै जानसक्ने र यसका कारण आर्थिक भार दिनानुदिन झन झन बढ्न गई यस क्षेत्रका व्यवसायीहरु पलायन हुने अवस्था
टड्कारो रुपमा देखिएकाले तत्पश्चात् राज्यमा आईपर्न सक्ने भयावह स्थितिलाई मध्यनजर गरी त्यसतर्फ पनि राज्यको ध्यान आकृष्ट गराई सोही बमोजिमको योजना तर्जुमा गरियोस् ।
१३. संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व सम्बन्धी नीति नियम तथा अन्य आवश्यकीय नीति नियमको तर्जुमा गर्न बनाईने समिति तथा उपसमितिहरुमा संघको प्रतिनिधिहरुको अनिवार्य प्रतिनिधित्व गराईयोस् ।
उल्लेखित मागहरुको कार्यान्वयनका लागि होटल व्यवसायी संघ ओखल्ढुङ्गा जोडदार माग गर्दछ । साथै वर्तमान संकटले सबैभन्दा बढी प्रभावित यस क्षेत्रका व्यवसायीहरुको मागहरुप्रति राज्यले समयमै उचित ध्यान पु¥याओस् । अन्यथा समय मै यसको सुनुवाई भएन भने आगामी दिनमा पलायनको संघारमा रहेका होटल व्यवसायीहरु बाध्यतावस आन्दोलनमा जानुपर्ने परिस्थितिको सिर्जना हुन सक्ने व्यहोरा समेत ध्यानाकर्षण गराउन चाहन्छौँ । त्यसैगरी यस संघले अघिसारेका मागहरुका सम्बन्धमा राज्यका आधिकारिक निकायहरुको आपसी सहमति भएमा आवश्यक पुनरावलोकन गर्न सकिने समेत अवगत गराउन चाहन्छौँ । साथै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्दै पर्यटन विकासका साथै राज्यमा रोजगारी सिर्जनाको अभियानमा यस होटल व्यवसायी संघ ओखलढुङ्गा सदैव लागिपर्ने विश्वास दिलाउन चाहन्छौँ ।
अन्त्यमा,
पर्यटन विकास र हालको महामारी रोग नियन्त्रणको अभियानमा राज्यसँग सदैव एकाकार भएर अगाडि बढ्ने प्रतिवद्धताका साथ यस संघले अगाडि सारेका तमाम व्यवसायीहरुका समस्यालाई सरकारले यथाशीघ्र सम्बोधन गर्नेछ भन्ने पूर्ण विश्वास लिएका छौँ ।
जय होटल ।
अध्यक्ष
थगेन्द्र राज राई