ओखलढुंगा । ओखलढुंगामा गत चैत २२ गते कोरोना संक्रमण पुष्टि भएका तीन पुरुषमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन । ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका उनीहरुको अवस्था सामान्य रहेको छ ।
उनीहरुको दैनिक विहान, दिउँसो र बेलुका स्वास्थ्य जाँच गर्ने गरिएको छ । 'हामीले दैनिक स्वास्थ्य जाँच गर्दा उहाँहरुको अवस्था सामान्य रहेको छ,' ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक युवराज आचार्यले ओखलढुंगाखबरसँग भने, 'उहाँहरुलाई कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन ।'
आइसोलेसनमा उपचार गराइरहेकामध्ये एकजनाको प्रेसर घटबढ हुने पहिलेदेखिकै समस्या रहेको आचार्यले बताए ।
जिल्लामै कोरोना संक्रमितको उपचार गर्न थालिएपछि ओखलढुंगा सामुदायिक अस्पतालमा १५ शैय्याको भेन्टिलेसनसहितको आइसोलेसन निर्माण गरिएको छ । आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ । दिनको ४ पटक स्वास्थ्यबर्द्धक खानेकुरा खुवाउने गरिएको छ । आत्मबल बढाउने, दैनिक व्यायम गर्ने, मनोरञ्जन गर्नेलगायत इन्टरनेटको समेत व्यवस्था गरिएको छ ।
ओखलढुंगा सामुदायिक अस्पतालले कोरोना संक्रमितको उपचार गर्न खटिने स्वास्थ्यकर्मीलाई समेत छुट्टै आइसोलेट गरेर राखेको छ ।
क्यान्सरपीडित कोरोना संक्रमित वृद्ध घरमै
गएको असार २६ गते ओखलढुंगाका ७२ वर्षीय क्यान्सरपीडित बिरामीलाई संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा काठमाडौँमा स्वाब दिएका बृद्ध ओखलढुंगा फर्किएपछि कोरोना पुष्टि भएको थियो । क्यान्सरका कारण अवस्था चिन्ताजनक रहेका ती बृद्धालाई लिखु गाउँपालिकास्थित घरमै पारिवारिक हेरचाह गर्नेगरी राखिएको स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार संक्रमितका परिवारलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ ।
हालसम्म ओखलढुंगामा ५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये एकजना उपचारपछि निको भएर घर फर्किएका छन् ।