ओखलढुंगा । गएको असार २६ गते कोरोना संक्रमण पुष्टि भएका लिखु गाउँपालिकाका ७२ वर्षीय क्यान्सरपीडित वृद्ध रहेको गाउँ सिल गरिएको छ । लिखु गाउँपालिका वडा नं २ स्थित कुवापानी गाउँभित्रको विशंखे टोलमा रहेका १७ घरधुरी सिल गरिएको हो ।
क्यान्सरका कारण अवस्था चिन्ताजनक भएपछि काठमाडौँबाट उपचार गराएर ती बृद्ध गाउँ फर्किएका थिए । काठमाडौँमै रहँदा स्बाव दिएका उनी गाउँ फर्किसकेपछि कोरोना संक्रमण पुष्टि भएको थियो । 'संक्रमण पुष्टि भइसकेपछि संक्रमित वृद्धको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा गाउँका अरुले पनि उनीसँग भेटघाट गरेको पाइयो,' प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले ओखलढुंगाखबरसँग भने, 'त्यसैले गाउँलाई नै क्वारेन्टाइन बनाएर सिल गरिएको छ ।'
प्रजिअ पौडेलका अनुसार बृद्धको संक्रमण पुष्टि भएपछि उनको गाउँमा आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ । गाउँमा नेपाल प्रहरी र लिखु गाउँपालिकाका नगर प्रहरीले सुरक्षा दिइरहेका छन् । सिल गरिएको विशंखेटोलभित्र करिब १ सय जना रहेको लिखु गाउँपालिका वडा नं २ का वडाध्यक्ष रामहरि बुढाथोकीले जानकारी दिए ।
हिजो मात्रै लिखु गाउँपालिकाले सिल गरिएको गाउँमा राहत वितरण गरेको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक दिनानाथ चौधरीले दिएको जानकारी अनुसार ३० केजीका दरले एक बोरा चामल, दाल, तेल, नुन, चिनलगायतका खाद्यसामग्री वितरण गरिएको छ ।
संक्रमितलाई गाउँमै किन राखियो ?
अवस्था चिन्ताजनक भएको भनिएका क्यान्सरपीडित वृद्धलाई कोरोना संक्रमण भएपछि कमाण्ड पोष्टले गाउँमै राख्ने निर्णय गरेको थियो । उनलाई परिवारले अवस्था चिन्ताजनक भएको भन्दै गाउँ फर्काएका थिए । वृद्ध संक्रमितको पुन: पीसीआर परीक्षण गर्ने र पुन: कोरोना पोजेटिभ आएमा थप उपचारका लागि सोचिने प्रजिअ पौडेलको भनाइ छ ।
पीसीआरको तयारी
सिल गरिएको क्षेत्रमा भोलि ३१ गते पीसीआर गर्ने तयारी गरिएको छ । सो क्षेत्रका संभावित जोखिममा रहेकाको पीसीआर गरिने प्रजिअ पौडेलले बताए ।