ओखलढुंगा । आर्थिक वर्ष २०७७/०७८ को लागि जिल्ला दररेट निर्धारण गरिएको छ । जिल्ला दररेट निर्धारण समितिको गत सोमबारको बैठकले जिल्लाका विभिन्न क्षेत्रमा लाग्ने कामदारको खर्च, ढुवानी खर्चलगायतका विभिन्न शीर्षकको दररेट निर्धारण गरेको हो ।
समितले कामदारहरुको ज्याला दररेट प्रति जना प्रति श्रम दिन ज्यामीको ज्याला ७ सय ३० तोकेको छ । २०७६/०७७ मा ६ सय ७० रुपैयाँ रहेको थियो । यस्तै दक्ष कामदारको ज्याला १ हजार पुगेको छ । यसअघि ९ सय ३० रुपैयाँ थियो । समितिले चेन म्यान, सर्भेयर, सर्भे हेल्पर, पियन, ड्रिलर, ब्लाष्टर, सुपरभाइजर, कम्प्युटर सेवा, प्लम्बरलगायतका कामदारहरुको समेत दररेट तोकेको छ ।
समितिले स्थानीय निर्माण सामग्रीको दररेट, मोटरबाटो सुविधा नभएको क्षेत्रमा भरियाद्वारा सामान ढुवानी गर्दाको दररेट, देशका विभिन्न भागबाट ट्रक तथा ट्याक्टरबाट ढुवानी गराउँदाको दररेट, जिल्लाभित्र ट्रक तथा ट्याक्टरबाट ढुवानी गराउँदाको दररेट समेत निर्धारण गरेको छ ।
यस्तै समितिको बैठकले स्थानीय निर्माण सामग्री बाहेक जीआइ पाइप, पोलिथिन पाइप, पाइप फिटिङ तथा अन्यय सामग्रीको हकमा उदयपुर र रामेछाप जिल्लाको दररेट लिई सो सामग्रीको ढुवानी समेत जोडी जिल्लाको दररेट कायम गर्ने निर्णय भएको छ । भवन तथा अन्य संरचना निर्माण गर्न चाहिने, स्थानीय निर्माण सामग्री बाहेकका, निर्माण सामग्रीहरुको हकमा उदयपुर, रामेछाप र काठमाडौँ जिल्लाको दररेटलाई आधार मानी सो सामग्रीको ढुवानी समेत जोडी यस जिल्लाको दररेट कायम गरिएको छ । यस्तै झोलुंगे पुलका फलामे तथा अन्य निर्माण सामग्रीहरु नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको झुलुंगे पुल शाखाले सूचिकृत गरेका फब्रिकेटरहरुसँग दररेट माग गरी वा उदयपुर, रामेछाप र सिन्धुली जिल्लालको दररेटलाई आधार मानी सो सामग्रीको ढुवानी समेत जोडी जिल्लाको दररेट कायम गर्ने समितिले निर्णय गरेको छ ।
हेर्नुस् जिल्ला दररेट