ओखलढुंगा, साउन २ । नेपाली कांग्रेस ओखलढुंगाले यसम घटनालाई राजनीतिक प्रतिशोध साँधेर स्थानीयलाई फसाउन खोजिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेसले एक विज्ञप्ति सार्वजनिक गर्दै आपत्ति जनाएको हो ।
लिखु गाउँपालिकाको एम्बुलेन्स दुर्घटना र चालक सुदर्शन खत्रीको मृत्युपछि उत्पन्न घटनाक्रमलाई लिएर १३ स्थानीय पक्राउ परेका छन् । कांग्रेसले विज्ञप्ति जारी गर्दै सो दुर्घटनास्थलमा उपस्थित भई मृतकका परिवारलाई सहनुभुति प्रदान गर्नका निम्ति अध्यक्ष गोविन्द पौडेलललाई यसमका जनताले बारम्बार आग्रह गर्दा समेत उनको उपस्थिति नभएपछि स्थानीय बासिन्दाहरु गाउँपालिका कार्यालयमा पुगि अध्यक्षसँग प्रतिनिधिमण्डल मार्फत भेटघाट गर्न खोज्दा भेटघाटको समय नदिएपछि स्थानीय करिब ३ सय जनाले नारा जुलुस र धर्ना दिएको उल्लेख गरेको छ । सो लत्तै मृतकको परिवारलाई १० लाख क्षतिपुर्ति दिने, मृतकका परिवारमध्य एक जनालाइ रोजगारी र बिद्यार्थी बहिनिलाइ छात्रवृत्ति दिने सहमती भई टुंगीएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सोही विषयलाई लिएर परिस्थिति सहज बनीसकेपछि पनि राजनिति प्रतिशोध साँध्ने उदेश्यले १४ दिन पछि लिखु गाउँपालिकाले बैठकबाट निर्णय गराई पीडित पक्षलाई दबाउनका लागि मृतककी माइली आमा भारती मगर खत्री, दिपक थापा, निर्मला थापा, राज कार्की, अरुण कार्की, लक्ष्मण कार्की, हरिचन्द्र कार्की, बिश्वास खत्री, बिशाल थापा, पारस खड्का, दिपराज खड्का, निर्मला थापा सहितका १३ जनालाई गिरफ्तार गराई मुद्दा चलाइएको भन्दै ओखलढुंगा कांग्रेसले भर्त्सना गरेको छ ।
नेकपाका जिल्ला कमिटि सदस्य समेत रहेका गाउँ कार्यपालिका सदस्यले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दर्ता गराएको कांग्रेसको ठहर छ । लिखु गाउँपालिका र पीडित परिवारका बिच सहमती भइसकेपछि पनि १४ दिनपछि राजनिति प्रतिशोधका आधारमा ३ सय जनाको आक्रोशित भिडबाट छानी छानी १३ जनालाई मुद्दा चलाइएको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ । यो घटनाले पीडितलाई न्याय दिनुको सट्टा थप पीडा दिने काम भएको विज्ञप्तिमा भनिएको छ ।
साथै १३ जनालाई चलाइएको मुद्दा तत्काल फिर्ता लिन र गाउँपालिकामा अनावश्यक लफडा निकाली जनमानसमा भ्रम श्रृजना गरेको प्रति दुःख व्यक्त गर्दै पक्राउ गरिएकालाई बिना शर्त रिहाई गर्न समेत कांग्रेसले माग गरेको छ ।