ओखलढुंगा । खिजिदेम्बा गाउँपालिका वडा नं १ मा रहेको हिमालय सामुदायिक संस्थाले लिखु ४ जलविद्युत आयोजनाको प्रमुख प्रबर्द्धक कम्पनी ग्रीन भेन्चर्स प्रा लिलाई ज्ञापनपत्र बुझाएको छ । आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएका कुनैपनि प्रतिबद्धता पूरा नगरी मनेमानी ढंगले काम गरिरहेको भन्दै संस्थाले ज्ञापनपत्र बुझाएको हो ।
संस्थाका अध्यक्ष रोशन महतराद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा स्थानीयहरुको सरोकारका कुनैपनि विषय पुरा नगरी सीमित व्यक्तिहरुलाई आफ्नो प्रभावमा पारेर काम गरिरहेको आरोप लगाइएको छ । ज्ञापनपत्रमा ११ बुँदे माग समेत अगाडि सारिएको छ । १५ दिनभित्र माग पूरा नभए संस्थाले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
मागमा आयोजनाको स्वामित्व हुनेगरी अस्पताल, ८० प्रतिशत काम पूरा भइसकेपछि आइपीओ शेयर जारी गरिनुपर्ने, प्रभावित क्षेत्रका विद्यालयलाई सहयोग उपलब्ध गराउनुपर्ने र आयोजनाको प्रत्यक्ष खर्चमा आवासीय विद्यालय सञ्चालन हुनुपर्ने, सामाजिक उत्तरदायित्वको बजेट छुट्याउनुपर्ने, खानेपानी समस्या समाधानका लागि ध्यान दिनुपर्ने, खेल मैदान निर्माण गर्नुपर्ने, बाटोघाटो सरसफाई गरिनुपर्ने, वास्तविक क्षति भएका प्राकृतिक स्रोतको उचित संरक्षण गरिनुपर्नेलगायतका रहेका छन् ।
ज्ञापनपत्र शुक्रबार संस्थाका अध्यक्ष रोशन महतरासहितको टोलीले आयोजनाको जनसम्पर्क अधिकृत कृष्णदास श्रेष्ठलाई बुझाएका थिए ।
लिखु ४ जलविद्युत आयोजना ओखलढुंगा र रामेछापको सीमानामा पर्ने लिखु नदीमा बन्दै गरेको आयोजना हो । प्रबद्र्धक कम्पनी ग्रीन भेन्चर्स प्रालिले निर्माण भइरहेको यो जलविद्युत् आयोजनाको काम दुईवटा ठेकेदार कम्पनीले गरिरहेका छन् । जसअन्तर्गत् सिभिलतर्फको काम गर्ने जिम्मा इन्डियन कम्पनी एसएसएनआरको छ । उक्त कम्पनीले ड्याम साइट र डिसेल्टिङ च्याम्बरलगायतका संरचना निर्माण गरिरहेको छ । यस्तै नेपाली कम्पनी साउथ एसियन इन्फास्ट्रक्चरले पावरहाउस, भल्भ साउथ र सर्ज साफ्टलगायतका संरचना निर्माण गरिरहेको छ ।
दुवै कम्पनीले करिब ६० प्रतिशत् काम सम्पन्न भइसकेको छ । यो आयोजना सम्पन्न भएपछि खिजिदेम्बा गाउँपालिकाका वडा नं. ३ स्थित विमिरेमा निर्माण हुने ड्यामबाट भूमिगत सुरुङ हुँदै लिम्तीमा निर्माण हुने विद्युत् उत्पादन गृहमा पानी खसालिने छ । सुरुमा यो आयोजनाको उत्पादन क्षमता १२० मेघावाटको रहनेगरी डिजाइन गरिएको थियो । पछि प्रबद्र्धक कम्पनीले उत्पादन क्षमता घटाएर काम अगाडि बढाएको हो ।
मुख्य संरचना ओखलढुंगातर्फ रहेपनि आयोजनाको प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप दुवै जिल्लामा रहेका छन् । ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको १ र ३ र लिखु गाउँपालिकाको ९ नं. वडा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको १, २ र ७ नं. वडा आयोजनाको मुख्य प्रभावित क्षेत्र हुन् । ३० महिनामा अवधिमा निर्माण पूरा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजनाका साथ निर्माण सुरु भएको यो आयोजना ५२ दशमलब ४ मेगावाट क्षमताको रहेको छ ।
१० अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, सनराइज बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक र प्रभु बैंकको ७५ प्रतिशत् लगानी गर्ने र आयोजनामा २५ प्रतिशत् लगानी त्रिवेणी ग्रुप र विशाल ग्रुपले गर्ने सम्झौता रहेको आयोजनाका प्रोजेक्ट डेभ्लप्मेन्ट मेनेजर बद्री रिजालले बताए । २०७३ साल असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेर काम अगाडि बढाएको आयोजना सन् २०२० को अगष्ट भित्रमा समापन गर्ने लक्ष्य राखिएको थियो ।