ओखलढुंगा, साउन ८ । गएको साउन ५ गते एकैपटक ओखलढुंगाका ५ जना कोरोना संक्रमित कोरोनामुक्त भए । योसँगै ओखलढुंगा जिल्ला कोरोनामुक्त भएका समाचारहरू बाहिरिए ।
स्वास्थ्य कार्यालय रुम्जाटारले मानेभञ्ज्याङमा भेटिएका १५ जना भारतीय नागरिक आफ्नो जिल्लाका नभएकाले ओखलढुंगा जिल्ला कोरोनामुक्त जिल्ला भएको बतायो । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आधिकारिक प्रोफाइलमा ओखलढुंगा जिल्ला कोभिड १९ को संक्रमणबाट मुक्त भएको स्टाटस राख्यो । प्रशासन कार्यालयले सोही स्टाटसको नोटमा भारतीय नागरिकको कोरोनाको नमुना परीक्षण मात्रै जिल्लाबाट गरिएको र उनीहरु ओखलढुंगा जिल्लाको नभएकाले ओखलढुंगा जिल्ला कोरोना संक्रमण मुक्त जिल्ला भएको प्रस्टीकरण दिएको छ ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ओखलढुंगा जिल्लालाई कोरोनामुक्त जिल्लाको सुचिमा राखेको छैन । मन्त्रालयको साउन ७ गते साँझको बुलेटिन हेर्ने हो भने धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर, रसुवा, मुस्ताङ र मनाङ जिल्ला कोरोना संक्रमण मुक्त जिल्लाको सुचिमा छन् । बुलेटिनमा ओखलढुंगा जिल्ला भने १-५० वटा सक्रिय केस अर्थात कोरोना संक्रमित भएको जिल्लाको सुचिमा रहेको छ ।
जे होस् ओखलढुंगा जिल्ला कोरोना संक्रमणमुक्त भएको छैन । ओखलढुंगा जिल्ला संक्रमणमुक्त हुनलाई मानेभञ्ज्याङ गाउँपालिकामा भेटिएका १५ जना कोरोना संक्रमित कोरोनामुक्त भएपछि मात्रै हुन्छ । तर बीचमा फेरि नयाँ संक्रमित नभेटिएमा मात्रै । कोरोना संक्रमित भारतीय मजदूरहरुको ओखलढुंगामा स्वाब मात्रै संकलन गरिएको थिएन । उनीहरु केही दिन मानेभञ्ज्याङमै बसेका समेत थिए ।
अहिलेको कोरोनाको तथ्यांक भनेको जहाँबाट स्वाब परीक्षण गरियो त्यही गणना हुने हो । जहाँको नागरिक त्यही गणना हुने हो भने त नेपालभर ओखलढुंगाका दर्जनौँ नागरिक कोरोनाबाट संक्रमण भएका होलान्, विश्वभर त अझ सयौँ होलान् । कि कसो ?
त्यसैले ओखलढुंगा जिल्ला कोरोना संक्रमणमुक्त भयो भनेर ढुक्क नहोऔँ । जोखिम उत्तिकै छ । नडराऔँ तर सबै सतर्क हौँ ।