ओखलढुंगा । खेलकुदको माध्यमबाट पर्यटन प्रबद्धन गर्ने लक्ष्यसहित ओखलढुंगा टुरिजम डेभलप्मेनट कमिटीको अायोजनामा ४२ कि.लो. मिटर अल्ट्रा म्याराथन हुने भएको छ। फागुन १९ गते बिहीबारबाट दाैड सुरु हुने शेर्पा सञ्चार समुह ओखलढुङ्गाका सचिव दावाजाङ्बु शेर्पाले जानकारी दिनुभयो।
दौड खिजी फलाटेबाट सुरु भएर चुप्लु भञ्ज्याङ थोले देम्बा ताक्लुङ लामुजे भुलभुले फक्से खुन्दुर्के दोराखार्क ताउर चुप्लु भञ्ज्याङ हुदै खिजी फलाटे अाएर सम्पन्न हुने अांयोजकले जानकारी दिएको छ । दर्ता शुल्क काठमाडौंबाट सहभागी हुने धावकलाई ८००० तोकिएको छ ।
धावकहरुलाइ टिसर्ट र मेडल र प्रमाण पत्र प्रदान गरिने छ। धावकले फागुन ८ सम्म नाम दर्ता गरिसक्नुपर्ने छ । ओखलढुंगा जिल्लामा पर्यटन प्रबद्धन गर्ने हेतुले २०७५ साल असार ३१ गतेका दिन खिजीदेम्बा -९ का समाजसेवी ङावाङिमा शेर्पाको अध्यक्षतामा सबै पर्यटन व्यावसायीहरुलाई एकजुट गर्दै ओखलढुंगा पर्यटन विकास समिति गठन भएको थियो।
समितिले पर्यटन क्षेत्रमा प्रबद्धन र विकास गर्नका लागि क्रमिक रुपमा गुरु योजना बनाएर स्थानीय तहसंग समन्वय गर्दै अगाडि लैजाने लक्ष्य रहेको टुरिजम डेभलपमेन्ट कमिटीका महासचिव पासाङ शेर्पाले बताउनुभयो। उहाँकाअनुसार ओखलढुंगामा पर्यटन प्रबद्धन गर्ने पहिलो चरणम ४२०० मिटर उचाइमा रहेको पिके पिकदेखि २१ किमि दूरीमा पर्ने खिजीदेम्बाको खिजीफलाटे बजारसम्म हाप म्याराथनको अायोजान गरेको थियो।
ओखलढुंगाका पर्यटकीय दृष्टिकोणले प्रख्यात स्थलहरुको प्रचार प्रसार गरी पर्यटक भित्र्याउन विशेष भुमिका र पहल गर्ने लक्ष्य भएकोले लक्ष्य अनुरुप काम गर्ने प्रतिबद्धता रहेको समितिले जनाएको छ।
देम्बा डाँडा र त्यस क्षेत्रको पर्यटन प्रवर्दन गर्ने लक्ष्य राखिएको आयोजक समितिका अध्यक्ष ङावाङिमा शेर्पाले बताउनुभयो। म्याराथनमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट एक सय बढी धावकको सहभागी हुने आयोजकले जनाएको छ।
म्याराथनमा प्रथम हुने महिला र पुरुषलाई जनही नगद ७० हजार रुपैयाँ, ५५ हजार रुपैयाँ र ४० हजार रुपैयाँ सहित ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ।
राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा खेलकुद पर्यटकको सम्भावना बढी रहेकाले म्याराथनको आयोजना गरेको आयोजकको दाबी छ। सुन्दर र रमणीय क्षेत्र रहेको थोले देम्बा डाँडाबाट सगरमाथालगायतका अग्ला हिमालशिखरको नजिकबाट अवलोकन गर्न पाइने र दुई दर्जन बढी प्रजातिका गुराँस प्रत्यक्ष हेर्न पाइन्छ।
सरकारले घोषणा गरेको मुख्य सय गन्तव्य मध्य देम्बा डाँडा क्षेत्र पनि पर्दछ।