-तायुछाङ लामा 'किरण'
अहिले कोरोना भाइरसको महामारी सिंगो मानव जातीका लागि विश्वव्यापी चुनौती भएकाे छ । नेपालमा कोरोना सङ्क्रमण भएका या सङ्क्रमणको जोखिममा रहेका तथा एकल बासमा बसेका मानिसहरूलाई हेर्ने नजर कुनै गम्भीर अपराध गरेको अपराधीलाई भन्दा तुच्छ देखिन्छ। नेपाली समाजमा पढेलेखेका केही डाक्टर, प्राध्यापक, वकिल, नेता, सामाजिक अभियन्ता तथा समाजसेवीहरू बाट नै यस्तो व्यवहार भइरहेको छ ।
कोही कोरोना सङ्क्रमित भएको तथा सङ्क्रमितको नजिक थियो भन्ने हल्ला चलेकै भरमा उनीहरूलाई समाजले तुच्छ देख्नु भनेको बुर्जुवा शिक्षाको उपलब्धि हो । जान्ने, बुझ्ने, विज्ञ तथा पढे लेखेकाहरूको यस्तो पाखण्डी व्यवहारले कोरोना सङ्क्रमण नभएकाहरू र एकल बास बसेका हरूलाई नै डिप्रेसन, आत्महत्या गर्ने कोसिस र आत्म हत्या गर्ने स्थितिमा पुगेको पाइन्छ । अझ सङ्क्रमित हरूको घर परिवार को अन्य सदस्यहरू लाई आँखाले धेरै पर देख्यो भने पनि उसलाई देख्यो कि सङ्क्रमण भई हाल्ने जस्तो या कुनै नगर्ने काम गरेको जस्तो दृष्टि ले हेरिन्छ, तर नपढेका आमा बुवाहरू को मिठो व्यवहार ले कोरोना सङ्क्रमित हरू मानसिक तनाव बाट मुक्त भएको देख्दा लाग्छ कोरोना भाइरस भन्दा त पढेलेखेका सामाजिक भाइरसहरू बाट धेरै सङ्क्रमित तथा एकल बासमा बस्ने हरू को ज्यान गइरहेको छ।
पुँजीवादी, रूढिवादी व्यवस्थासँगै दलाल भ्रष्ट राजनीतिले कचल्टिएको नेपाली समाजमा कोरोना भाइरससँग भन्दा सामाजिक भाइरसहरू सँग बच्न जरुरी देखिन्छ। सङ्क्रमण जो कोहीलाई हुन सक्दछ तर पुँजीवादी समाजका केही विद्वानहरू ले यो वा त्यो बहानामा व्यापार गरिरहेका छन्। सरकार भागबन्डा र कमिसन को पछाडि दौडी रहेको छ। आम नागरिक को चुलो नजलेको महिनौँ भइसक्यो, नेपाली युवाहरू विदेशमा उद्धार को पर्खाई मा भोकेइ सुती रहेका छन्, यही बेला देश भरि बाढी पहिरो ले सताएको छ, कहीँ सरकार ले सुकुम्वासी बस्ती मा आगो लगाएको छ, ठुलाबडा ले सवारी पास लिएर चर्को भाडामा जनतालाई चुसिरहेको छ , रेमिटेन्स तिर्ने आफ्ना नागरिक लिन सरकारले दोबर भाडा तोकेर पनि आना कानी गरी रहेको छ। हाम्रा नेपाली दाजुभाइ हरू ५६ डिग्री को मरुभूमिमा बसेर ८० हजार रुपियाँ तिरेर ३-४ महिना देखि उद्धार गर्न आउने जहाज कुरेर आधा पाउरोटी खाएर बसिरहेका छन्, यता मन्त्री देखि कर्मचारी सबैलाई कमिसन को पिरलो छ, कमिसन नमिले जहाज उड्ने कुनै टुङ्गो छैन।
कोरोनाका बिमारीलाई उपचार कक्ष, परीक्षण मेसिन, अस्पताल तथा एकल बास को अभाव छ तर प्रधानमन्त्री राम मन्दिर निर्माण को पिछाडि हनुमान भएर लाग्नु भएको छ, कम्युनिस्ट पार्टी को नेता तथा प्रधानमन्त्री जस्तो व्यक्ति देश पूर्ण रूपमा कोरोना को कहरले छटपटी रहेको बेला राम मन्दिरको पछि पछि दगुर्नु कति उचित हो? के जनता प्रति सरकार को जिम्मेवारी यही हो ? सायद समाजका भाइरस हरूले बुझेका होलान् तर इमानदार निर्धो जनताले बुझ्न सकिएन।
सङ्क्रमितहरू पनि मानिस हुन् उनलाई जनावारको दृष्टिले हेर्न बन्द गर्नु पर्छ। समाजका अगुवा बुद्धिजीवी, नेता , शिक्षक तथा हाकिमहरू जो कोहिले आफ्नू तुच्छ व्यवहार लाई सुधार्न आट गर्नु पर्छ। यदि बुर्जुवा शिक्षाको पछाडि दौडिने, तुच्छ बेबहार नछोड्ने हो भने समाजका अगुवा बाट बाटो हगुवा को नामले परिचित जनताले गर्ने छन्। कोरोना सङ्क्रमण होस् नहोस् तर नेपाली समाज काग ले कान लग्यो भनेर कागको पछि कुद्ने जस्तो हो हो रे को पछि पछि बुर्जुवा शिक्षाको भरमा कुदेको देखेर अचम्ममा परेको छु। जनताहरू लाई बुझाउने, बाटो देखाउने अगुवाहरू नै बाटो हगुवा जस्तो सामाजिक भाइरस को रूपमा देखा पर्दा नेपालको चेतना स्तर कति छ भन्ने कुरामा गम्भीर प्रश्न चिन्न देखियो !
कम्युनिस्ट सरकार भएको देशमा कोरोनाले थलिएका जनताको जनजीविका, स्वास्थ्य , शिक्षा र रोजगारी को व्याबस्ता गर्नु को सट्टा कमिसन मुखी, भागबन्डामा लुछाचुँडी ले कम्युनिस्ट सरकार को नागरिक प्रतिको जिम्मेवारी पनि स्पष्ट भयो, जनताको कोरोना जाँच गर्न लाई सरकारले सक्दिन भन्ने कुराले हाम्रो देशमा सरकार छ र! भन्ने प्रश्न उठ्छ, नागरिक भोको भएको बेला स्वास्थ्य, बिजुली, पानी, सूचना, खाद्यान्न को व्यवस्था गर्नुको सट्टा कर असुल्ने, स्वास्थ्य जाँच आफैँ गर्नु भन्ने, भोको जनतालाई घर बाहिर नहिँड भन्ने जस्ता उर्दी सुनेर जनता भोको पेट राखेर कति बस्ने सरकार ? कोरोना जनतालाई कहर बन्यो तर मन्त्री, नेताहरू लाई उपहारको लैनो गाई, उद्दारको नाममा, स्वास्थ्य सामग्री खरिदको नाममा, राहतको नाममा, देश र जनताको नाममा कमिसन को जालो फिँजाइएको छ। जनतामुखी नारा दिएर मात्र जन-सरकार हुन्छ ? जसरी पनि जनता लाई लुटी रहने, फकाई फकाई जनताको टाउको फुटबल खेलिरहने केही राजनीतिक पार्टी र स्थानीय सरकार देखि सङ्घीय सरकार सम्मलाई सामाजिक भाइरस देख्नु कुनै ठुलो कुरा होइन। गाउँ घरमा चेतना / ज्ञानको ज्वती छर्ने देखि देश चलाउने ठुला ठालु हरूको यस्तो व्यवहार, काम गर्ने तौर तरिका र निर्णय हरू देखेर कोरोना भाइरस भन्दा हजारौँ गुणा घातक सामाजिक भाइरस हुन् भनेर प्रस्ट सँग बुझ्न र दिल खोलेर आम नागरिकले भन्न सक्नु पर्छ।