ओखलढुंगा । सरुवा भएर प्रदेश १ का विभिन्न जिल्लामा पुगेका प्रहरीमा कोरोना संक्रमण देखिएपछि प्रदेश १ प्रहरीले सरुवा स्थगित गरेको छ । प्रहरी सरुवाका कारण कोरोनाको जोखिम बढेको भन्दै विरोध आउन थालेपछि सरुवा स्थगित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश नं १ मा असारदेखि हालसम्म २ हजार ४४ प्रहरीको सरुवा भइसकेको छ। प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीका अनुसार भदौ २ गतेबाट सरुवा रोक्न सबै प्रहरी कार्यालयलाई पत्राचार भइसकेको छ ।
कार्कीले सरुवा गरिएका प्रहरीमा कोरोना देखिएर अवस्था भयावह बनेपछि स्थानान्तरणको काम रोकिएको बताए । प्रदेश १ मा २११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरमा कार्यरत ८७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस बाहेक प्रदेश १ प्रहरी कार्यालयमा ४०, तालिम केन्द्रमा १२, मोरङमा १३, सुनसरीमा १३, झापामा १२, दंगा नियन्त्रण प्रहरी गण दुहबीमा १२, खोटाङमा छ, धनकुटामा चार, ओखलढुंगा, भोजपुर र इलाममा तीन/तीन, पाँचथर, संखुवासभा र उदयपुरमा एक/एक जना प्रहरीमा कोरोना देखिएको छ ।