हिजो अर्थात् भदौ १२ गते । विहान अलि ढीलै उठेछु । ओखलढुंगाखबरडटकममा राशिफल अपडेट गर्ने दैनिकी नै हो मेरो । ज्योतिषले राशिफल इमेलमा पठाइसकेका थिए । राशिफल सम्पादन गर्नु आवश्यक थिएन, त्यसैले अनलाइनमा अपडेट गरिहालेँ । राशिफल अपडेट गर्दा विहानको ७ बजिसकेको थियो ।
एउटा फोन आयो, चिनेकै मान्छेको फोन थियो त्यो । 'मिसन अस्पतालमा डाक्टरलाई कोरोना लाग्यो रे,' उनले भने, 'उतैबाट आउने मान्छेले हल्लाखल्ला गर्दैछन् ।'
'बुझ्छु नि त' भनेर मैले फोन राखिदिएँ ।
पत्रकार भएपछि सूचना अनेकथरि आउँछन् । तर अस्पताल पुगेर फर्कनेले नै त्यस्तो सूचना ल्याएपछि केही होला भनेर मैले ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक युवराज आचार्यलाई फोन गरेँ । उनलाई 'नमस्कार भनेर व्यस्त हुनुहुन्छ कि' भनेर सोधेँ । उनले एउटा बैठक चलिरहेकोले व्यस्त भएको जनाए । पछि कुरा गर्ने सर्तमा मैले फोन राखेँ ।
मेरो मनमा कौतुहलता भइरहेको थियो । अस्पतालका निर्देशक एकाविहानै बैठकमा व्यस्त छन् भनेपछि झन् कौतुहलता थपियो । त्यसैले तुरुन्तै स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीलाई फोन गरेँ । पहिलो प्रयासमै फोन लाग्यो । 'मिसन अस्पतालका डाक्टरलाई कोरोना लाग्यो भन्ने सुनियो, के रहेछ कुरा ?' मैले तिवारीलाई सोधेँ ।
तिवारीले अस्पतालका डाक्टरलाई नभएर सेनाका एक जवानलाई कोरोना पुष्टि भएको बताए । तिवारीले कोरोना पुष्टि भएका सेनाको उपचार गरिएको रुम्जाटार अस्पताल र ओखलढुंगा सामुदायिक अस्पताल सिल गर्ने तयारी भइरहेको समेत जानकारी दिए । समाचारलाई चाहिने अरु थप जानकारी पनि दिए ।
तिवारी कमाण्ड पोष्ट ओखलढुंगाका फोकल पर्सन समेत रहेकाले उनको भनाई मेरो समाचारका लागि पुष्ट्याइँ हुने आधिकारिक स्रोत थियो । तर पनि मन कता कता मानेन । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललाई फोन गरेँ । पौडेलले आफूलाई सबै जानकारी आइनसकेको र सबै बुझ्ने जिम्मा तिवारीलाई दिइएको बताए ।
तिवारीले मलाई पुष्टि भएको हो नै भनेपछि समाचार लेख्न थालेँ । समाचारको शीर्षक तयार भयो- 'ओखलढुंगामा एक नेपाली सेनामा कोरोना पुष्टि'
ब्रेकिङ समाचारमा लिड लेखिसकेपछि अनलाइनमा पोष्ट गरेर बाँकी समाचार पछि लेख्ने मेरो बानी थियो । त्यसै गरेँ । समाचारको लिड पोष्ट गरेर सामाजिक सञ्जालमा शेयर गरेपछि पत्रकार शिव ढुंगानाको फोन आयो । सूचना त्यही थियो । समाचार लेख्दै छु भनेर फोन राखेँ । समाचार पुरा गरेँ ।
३५ दिनअघि घरविदा सकेर जिल्ला फर्किएका सेनामा कोरोना देखिनु अचम्मकै कुरा थियो । समाचार लेखिसकेपछि मनमा एउटा कौतुहलता पैदा भयो । कोरोना पुष्टि भएका सेना ड्युटीमा थिए कि क्वारेन्टाइनमै थिए ?
मैले सेनाभित्रै चिनेका एकजना मित्रलाई फोन गरेँ । ड्युटीमा रहेको सेना विरामी परेपछि कोरोना देखिएको उनले सूचना दिए । उनले नाम, थर, ठेगानादेखि उमेर सबै कुरा खुलाए । तर मलाई त्यो सबै चाहिएको थिएन । मात्रै बुझ्न खोजेको थिएँ ।
यसबीचमा मैले पुन: स्वास्थ्य कार्यालयका प्रमुख तिवारीलाई फोन गरेँ । 'रुम्जाटार अस्पताल सिल गरिएको नै हो नि ?' म प्रष्ट हुन खोजेँ । अघि लेखेको समाचारमा मैले त्यो कुरा उल्लेख गरेको थिइनँ । तिवारीले रुम्जाटार अस्पताल सिल गरिसकिएको र मिसन अस्पताल सिल गर्न भनेका छौँ भनेर भने । मैले फलोअप समाचार पनि बनाएँ । शीर्षक थियो- रुम्जाटार अस्पताल सिल गरियो, ओखलढुंगा सामुदायिक अस्पतालमा बैठक बस्दै ।
सेनाभित्र कोरोना देखिएपछि सेनाको आधिकारिक धारणा के छ त ? तयारी के छ ? अर्को फलोअप समाचार लेख्ने योजना बनाए । अरिदमण गणका गणपति विशाल सिंहको नम्बर रहेनछ मोबाइलमा । गणकै ल्याण्डलाइनमा फोन गरेँ । नम्बर प्राप्त भयो ।
त्यतिबेलै अनलाइनको समाचार पढेर एकजना अभिभावक आत्तिँदै कोठामै आइपुगे । 'लालीगुराँस बोर्डिङ स्कूलले कक्षा सञ्चालन गरेर झन् जोखिम भयो, समाचार बनाइदिनु पर्यो ।' उनले भने । ३/४ जना पाठकको फोन बजिरहेको थियो मोबाइलमा । त्यसमध्येका थिए एकजना रुम्जाटारका सनम गुरुङ । 'अघि तपाइँले लेख्नुभएको समाचार सुमन तिवारीले नै बताएका हुन नि ?' गुरुङले प्रश्न गरे ।
'हो हो उहाँले नै बताउनु भएको हो । किन र ?' मैले भनेँ ।
'यहाँ त मैले बताएकै होइन भन्ने कुरा आयो र पो त !' उनले भने ।
लौ बित्यास ! मैले लेखिसकेको समाचार कतै गलत त छैन ? म आफैँ अन्योलमा परेँ । मैले लेखेकै एंगलमा समाचार अरु अनलाइन र केही रेडियोले पनि लेखेका/बजाएका थिए । कोरोना पुष्टि भयो भनेर त्यहाँ पनि भनिएको थियो । बताउने सुमन तिवारी उल्लेख गरिएको थियो । समाचार लेख्नेमध्येका एक ओखलढुंगान्युजडटकमका सञ्चालक विवेश श्रेष्ठलाई फोन गरेँ । 'अघि लेखेको समाचार गलत भएजस्तो लाग्यो, रिपोर्ट आएकै छैन भन्ने पो सुनियो । के हो बुझ्नुपर्ने भयो ।' मैले भने ।
कोरोना पुष्टि भएको भनिएको विषय खास के हो त ? म अलमलमा परिरहेको थिएँ । अरिदमन गणको ल्याण्डलाइनबाट फोन आयो । 'खै त सरलाई फोन गर्नुभएनछ त ?' उताबाट सोधियो । मैले यसअघि नै गणपति सिंहलाई २ चोटि फोन डायल गरिसकेको थिएँ । तर सम्पर्क हुन सकेन भनेर टेलिकम बोलिरहेको थियो । यसैबीचमा गणपति सिंहकै फोन आयो । उनले कोरोना पुष्टि नभएको जानकारी दिए ।
यतिबेलासम्म ११ बजिसकेको थियो । म अलमलमा परिरहेको थिएँ । स्वास्थ्य कार्यालय भन्छ कोरोना पुष्टि भयो, सेना भन्छ कोरोना पुष्टि भएको छैन । कसको पत्याउने कसको नपत्याउने । पछि प्रशासन कार्यालयसँग पनि सम्पर्क भयो । प्रशासन कार्यालयको भनाई पनि कोरोनाको रिपोर्ट आइ नसकेको भन्ने नै थियो । कमाण्ड पोष्टको नेतृत्व सम्हालेको प्रशासन कार्यालयको भनाई अरुभन्दा आधिकारिक लाग्यो ।
लगत्तै म समाचार सच्याउने अवस्थामा पुगिसकेको थिएँ । समाचारमा त्रुटि भएको विषयलाई सच्याउनु र पाठकलाई सही सूचना दिनु आम सञ्चारमाध्यमको धर्म हो भन्ने मैले राम्रोसँग बुझेको थिएँ । समाचार सच्याउँदा र पाठकलाई सही सूचना दिँदा आफू तल परिँदैन, जिम्मेवार भइन्छ भन्ने ख्याल गरेको थिएँ ।
अघि लेखेको सुरुको समाचार 'ओखलढुंगामा एक नेपाली सेनामा कोरोना पुष्टि' शीर्षकलाई केही तोडमोड गर्ने योजना बनाएँ । सम्पादकीय सूचना प्रकाशित गर्ने योजना पनि बनाएँ । तर भित्र जे जे सच्याए पनि धेरैजसो पाठकहरुले फेसबुकको लिंकको कोभर हेरेर समाचारको आशय बुझ्ने र थप शेयर गर्ने अवस्था थियो । त्यसलाई निरुत्साहित गर्न मैले उक्त लिंकको समाचार डिलिट गर्ने योजना बनाएँ । सुरुमा फेसबुकमा शेयर गरिएका उक्त लिंकका सबै समाचार हटाएँ । त्यसपछि समाचार डिलिट गरिदिएँ ।
अब अर्को समाचार पनि पोष्ट भएको थियो । 'रुम्जाटार अस्पताल सिल गरियो, ओखलढुंगा सामुदायिक अस्पतालमा बैठक बस्दै' भन्ने । बाहिर शीर्षक ठीकै भए पनि भित्र समाचारमा कोरोना पुष्टि भएको भनेर उल्लेख थियो । त्यसलाई पनि सच्याएँ । र सम्पादकीय नोट लेखेँ- 'यसअघि प्रकाशित समाचारमा त्रुटि हुन गएकाले सच्याइएको व्यहोरा अनुरोध छ । -सम्पादक ।'
यति त गरियो तर पाठकले किन अनलाइनले समाचार सच्यायो भनेर बुझ्ने अवस्था थिएन । साथीहरूसँग सल्लाह गरेँ । एउटा सुझाव आयो, पुन: सेनाको कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी भनेर समाचार लेख्ने भनेर । मैले समाचार बनाएँ- ओखलढुंगामा कोरोना पुष्टि भएको भनिएका सेनाका जवानको आधिकारिक रिपोर्ट आउन बाँकी । समाचारमा स्वास्थ्य कार्यालयले सेनाका जवानलाई कोरोना संक्रमण भएको भनेर सञ्चार माध्यमलाई सूचना उपलब्ध गराएको थियो भनेर समेत उल्लेख थियो ।
समाचारको विषयलाई लिएर धेरै पाठकहरुले सुझाव दिए । यमुना राईको हतार नगरी समाचार सम्प्रेषण गर्नुपर्यो भन्ने सुझाव थियो । कुमार श्रेष्ठले आधिकारिक समाचार सम्प्रेषण गरौँ, सर्वसाधारण जनतालाई हतोत्साहित नबनाऔँ भनेर भने । समाचारको विषयमा आएको सुझाव मनन् गरेको छु ।
जे होस् स्वास्थ्य कार्यालयले नै हल्लाका पछाडि लागेर गलत सूचना सञ्चारमाध्यमलाई दिँदा हिजो दिनभर तनाव झेल्नुपर्यो । आम पाठकमा गलत सूचना प्रवाह भयो । यस घटनाले जिम्मेवार निकाय किन जिम्मेवार बन्नुपर्छ भन्ने पाठ सिकाएको छ । आज विहान साढे ११ बजेसम्म पनि ती संक्रमित भनिएका जवानको परीक्षणको रिपोर्ट आइसकेको छैन । आउनुहोस् हामी सबै कामना गरौँ, उनमा कोरोना पुष्टि नहोस्, अनी उनी चाँडै निको होउन् ।
*शीर्षक सच्याइएको -सम्पादक