ओखलढुंगा, भदौ १६ । ओखलढुंगाका प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य यज्ञराज सुनुवारलाई निर्वाचनताका जिल्लाभित्रका दुर्गम गाउँमा भोट माग्न पुग्दा मतदाताको घरमा खरको छाना देखेर मन चसक्क दुख्थ्यो । खरको छाना हटाएर टिनको छानो हाल्ने अभियान चलाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।
मतदाताका सामुहिक मागहरु सडक, पानी र बिजुलीबत्ती थिए । आर्थिक रुपमा पछि परेका समुदाय र व्यक्तिका घरहरू खरले छाइएका थिए । जसलाई दुई चार वर्षमा फेरिरहनुपर्थ्यो । उनीहरूको माग खरको छाना हटाएर जस्ताको लगाउन पाए हुन्थ्यो भन्ने थियो ।
जतिबेला उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भइसकेका थिए । ०७५ सालको फागुन-चैतको समयमा आगलागीका घटनाहरू जिल्लामा अत्यधिक घटे । जसमा खरले छाइएका घरहरू धेरै क्षति भएका थिए । खरले छाइएका घरभन्दा जस्ताले छाइएका घर आगलागीबाट बढी सुरक्षित देखिएको थियो । घरको क्षतिको आँकडा हेरेपछि सांसद सुनुवारको मनले मानेन । उनी जिल्लामै रहेको बेला ओखलढुंगा जिल्लालाई खरको छानोमुक्त घर अभियान चलाउने घोषणा गरे ।
'घर वरिपरि लागेको आगोको झिल्का वा जंगलमा लागेको आगो घरै छेउमा आउँदा उडेर आएको आगोले खरले छाइएका घरहरु जले । जस्ताका छाना भएका घर वरिपरिकै पनि सुरक्षित भए ।' उनले त्यतिबेलै भनेका थिए, 'आगोको जोखिमबाट बच्न पनि अब खरभन्दा जस्ता सयौं गुणा सुरक्षित देखियो । यस कारण पनि अब सुरक्षित आवाशका लागि ओखलढुंगा जिल्लाका घर खरको छानोमुक्त बनाइनु पर्छ ।'
उनले जिल्लालाई खरको छानोमुक्त बनाउने अभियानका लागि स्थानीय तह, प्रदेश र संघ सरकारसँग छलफल अगाडि बढाए । जसका कारण अहिले नेपाल सरकारले २०७७/०७८ को बजेट बक्तव्यमा नागरिकको सुरक्षित आवासको हक सुनिश्चित गर्न ३ वर्षभित्र सबै खर र फुसका छाना भएका घर प्रतिस्थापन गर्ने योजना अगाडि सारेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागको सुरक्षित नागरिक आवाश कार्यक्रम अघिल्लो आर्थिक वर्षबाट सुरु भएको थियो । गत आर्थिक वर्षमा हरेक तहका ४० घरधुरीलाई जस्ताको छानोका लागि अनुदान दिइएको थियो ।
चालु आर्थिक वर्षमा भने जिल्लाका ८ वटै स्थानीय तहमा १ हजार ३ सय ४३ घरको खरको छानो हटाइने भएको छ । जसमा सिद्धिचरण नगरपालिकामा २ सय ७९ घर, खिजीदेम्बा गाउँपालिकामा ९४ घर, चम्पादेवी गाउँपालिकामा २ सय ८ घर, चिशंखुगढी गाउँपालिकामा ६५ घर, मानेभञ्ज्याङ गाउँपालिकामा २ सय ९१ घर, मोलुङ गाउँपालिकामा १ सय ४७ घर, लिखु गाउँपालिकामा १ सय ४४ घर र सुनकोसी गाउँपालिकामा १ सय १५ घर रहेका छन् ।
यसबाहेक यसवर्ष जिल्लाका अरु थप घरलाई जस्ताको छानो अनुदानका लागि पहल भइरहेको सांसद सुनुवारले बताए । 'धेरै प्रयासकाबीच अभियानले सार्थकता पाइरहेको छ,' सांसद सुनुवारले भने, 'यो अभियान सबै जिल्लावासीको खरको छानोमुक्त घर नहुञ्जेलसम्म चलिरहन्छ ।'
उनका अनुसार जिल्लामा खरको छानो भएका घरको तथ्यांक संकलनको काम सकिएको छ । सोही अनुरुप आफूले खरको छानोमुक्त घर बनाउन पहल गरिरहने सांसद सुनुवारले बताए ।