ओखलढुंगा, ७ जेठ । परीक्षण प्रशारण गर्ने क्रममा ५२ दशमलब ४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत आयोजनाको ड्याम भत्किएको छ । ओखलढुंगा र रामेछापको सीमावर्ती नदीमा निर्माण भएको ड्याम फुटेको हो ।
सम्पन्न हुने चरणमा रहेको ड्याम फुटेको स्थानीय बुद्धिराज सुनुवारले जानकारी दिए । खिजीदेम्बा गाउँपालिका वडा नं १ का वडाध्यक्ष सरोज सुनुवारले पनि ड्याम फुटेको पुष्टि गरे 'विहानै ड्याम फुट्यो भन्ने सुनियो,' वडाध्यक्ष सुनुवारले भने, 'अलि माथिबाट हेर्दा फुटेको थियो ।'
तर लिखु ४ निर्माण गरिरहेको प्रबर्द्धक कम्पनी ग्रीन भेन्चर्ससँग भने सम्पर्क हुन सकेन । फिल्डमा रहेका बरिष्ठ जनसम्पर्क तथा प्रशासकीय प्रबन्धक कृष्णदास श्रेष्ठसँग सम्पर्क हुन सकेन ।
क्षतिको यकिन विवरण आउन सकेको छैन । तर यो आयोजना ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको थियो ।
यो आयोजनामा काम दुईवटा ठेकेदार कम्पनीले गरिरहेका छन् । जसअन्तर्गत् सिभिलतर्फको काम गर्ने जिम्मा इन्डियन कम्पनी एसएसएनआरको छ । उक्त कम्पनीले ड्याम साइट र डिसेल्टिङ च्याम्बरलगायतका संरचना निर्माण गरिरहेको छ । यस्तै नेपाली कम्पनी साउथ एसियन इन्फास्ट्रक्चरले पावरहाउस, भल्भ साउथ र सर्ज साफ्टलगायतका संरचना निर्माण गरिरहेको छ ।
आयोजना सम्पन्न भएपछि खिजिदेम्बा गाउँपालिकाका वडा नं. ३ स्थित विमिरेमा निर्माण भएको ड्यामबाट भूमिगत सुरुङ हुँदै लिम्तीमा निर्माण हुने विद्युत् उत्पादन गृहमा पानी खसालिने योजना थियो । सुरुमा यो आयोजनाको उत्पादन क्षमता १२० मेघावाटको रहनेगरी डिजाइन गरिएको थियो । पछि प्रबद्र्धक कम्पनीले उत्पादन क्षमता घटाएर काम अगाडि बढाएको हो ।
मुख्य संरचना ओखलढुंगातर्फ रहेपनि आयोजनाको प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप दुवै जिल्लामा रहेका छन् । ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको १ र ३ र लिखु गाउँपालिकाको ९ नं. वडा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको १, २ र ७ नं. वडा आयोजनाको मुख्य प्रभावित क्षेत्र हुन् । ३० महिनामा अवधिमा निर्माण पूरा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजनाका साथ निर्माण सुरु भएको यो आयोजना ५२ दशमलब ४ मेगावाट क्षमताको रहेको छ ।
१० अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, सनराइज बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक र प्रभु बैंकको ७५ प्रतिशत् लगानी गर्ने र आयोजनामा २५ प्रतिशत् लगानी त्रिवेणी ग्रुप र विशाल ग्रुपले गर्ने सम्झौता रहेको छ । २०७३ साल असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेर काम अगाडि बढाएको आयोजना सन् २०२० को अगष्ट भित्रमा समापन गर्ने लक्ष्य राखिएको थियो ।