ओखलढुंगा । सुनकोशी गाउँपालिका अध्यक्ष रुद्र अधिकारी गाउँपालिकामा लडाउन अगावै काठमाडौंमा बसेको, उपाध्यक्ष दुर्गा तामाङ सुनकोशी २ स्थित घरमा बसेको र कोरोनाको संभावित संक्रमण रोकथामका कार्य प्रभावकारी नभएको विषयको समाचार केही दिन अगाडि ओखलढुंगाखबर डटकमलगायतका सञ्चारमाध्यममा प्रकाशित भएको थियो । अध्यक्ष र उपाध्यक्ष गाउँपालिकामा नबसेको विषयमा नेकपा सुनकोशीले विज्ञप्ति नै निकालेर ध्यानाकर्षण गराएको थियो ।
सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अध्यक्ष अधिकारीले आफूले काठमाडौंमा बसेर सबै व्यवस्थापन गरेको, २ गाडी सामग्री गाउँपालिका पठाएको एक रेडियोमा अन्तर्वार्ता दिँदै बताएका थिए । तर शुक्रबार गाउँपालिका पुगेर कोरोनाको संभावित संक्रमण रोकथाम तथा उपचारका लागि आवश्यक निर्णय गराएका अधिकारीले उनले ल्याएका २ गाडी सामग्रीबारे जानकारी नदिएको पाइएको छ । बैठकको निर्णयमा सुनकोशी ७ का भोजकुमार श्रेष्ठले सर्जिकल माक्स १ हजार २ सय थान, पञ्जा १ हजार थान, सेनिटाइजर २० थान निःशुल्क प्राप्त भएको उल्लेख छ । गाउँपालिका बैठकबाट यस्तै सुनकोशी ३ का कुमार श्रेष्ठ र चक्र राईले २० थान पीपीई सहयोग गरेको भनेर अनुमोदन गरिएको छ ।
गाउँपालिकाले बिना निर्णय खरिद गरेका र अध्यक्ष स्वयंले सञ्चारमाध्यम मार्फत घोषणा गरेका सामग्री के के हुन् र कहाँ छन् भन्ने केही जानकारी नगराइएको एक कार्यपालिका सदस्यले जानकारी गराए । उनले लोकप्रियताका लागि भनिएको हो या सामग्री कहाँ राखिएको छ भन्ने अनुमान मात्र गर्न सकिने जनाए ।
गाउँपालिकाले कोरोना संक्रमण, रोकथाम तथा उपचारका लागि कोष निर्माण गरे पनि लकडाउनले समस्यामा परेका, यस अघि फौजी कीराको प्रकोपबाट पीडित भएका किसानलाई गरिने सहयोगबारे गाउँपालिकाले चासो नदिएको समाजसेवी सुनिल खड्का कटुवालीको गुनासो छ । त्यस्ता किसान र श्रमिकहरुको उचित सम्बोधन हुनुपर्ने उनको माग छ ।
यस्तो थियो कर्मचारीको भनाई
काठमाडौँ रहँदा २ गाडी सामान पठाएको दावी गर्दै आएका गाउँपालिका अध्यक्ष र सुनकोसी गाउँपालिकामा कार्यरत जिम्मेवार कर्मचारीकै कुरा बाझिने गरेको छ । पढौँ सुनकोशी गाउँपालिकाका एक जिम्मेवार कर्मचारीसँग तत्कालीन समयमा गरिएको कुराकानीको अंश-
अध्यक्षज्यू काठमाडौँमा हुनुहुन्छ । उहाँले औषधि के पठाउनु ? आज मात्रै कुरा भएको थियो, थर्मल गन र पीपीई खोज्दै छु, पाइएको छैन भन्नुभयो । औषधि सप्लाई गर्ने गाउँकै भाइहरुले मोलुङ, सोलुतिर औषधि लैजाँदा रहेछन् । हामीले उनीहरुलाई हामीलाई पनि ल्याओ, आपतकालीन स्थिति आयो भन्यो र केही प्राप्त भएको छ । यहाँ सिटामोल पनि छैन । स्वास्थ्यकर्मीहरु दिनहुँ निहुँ खोजिरहेका छन् । उनीहरु कमेन्ट लेख्छन्, के के लेख्छन् । विश्वमा यस्तो हाहाकार छ, किन्न पनि पाइएको छैन । स्वास्थ्यकर्मीहरु लकडाउनमा बस्नु त होला नि भन्दैछन् । २ वटा हेल्थ युनिटबाहेक एक एक वटा पीपीई पुर्याएका छौं ।
(सुनकोशीका अध्यक्ष काठमाडौं गएको ८ दिनपछि चैत १८ गतेका दिन गाउँपालिकाका एक जिम्मेवार कर्मचारीसँग गरिएको कुराकानीमा आधारित)