ओखलढुंगा । सिंचाइका योजनामा कमिसन लिएको विषय सार्वजनिक भएपछि जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख महेश यादवले सुचना दिने उपभोक्ताहरुलाई धम्क्याउन थालेका छन् । यादवले आफैं टेलिफोन गर्ने र कतिपय ठाउँमा एजेन्ट नै खटाएर धम्क्याएका हुन् ।
कमिसन लिएको, खाली चेकमा सही गराएर भूक्तानी एजेन्टले लिने गरेको, सेटिङमा योजना पार्ने गरेकोलगायतका विषय खुलासा गर्ने समतिका अध्यक्ष तथा पदाधिकारीहरुलाई बारम्बार फोन गर्ने, सुचना दिएको विषयमा केरकार गर्ने र धम्की समेत दिने गरेको उपभोक्ताको गुनासो छ । कतिपय उपभोक्तालाई कार्यालयमै बोलाएर योजनाको प्रलोभन समेत देखाउने गरेका छन् ।
यादवले सुचना दिने उपभोक्ता समितिका पदाधिकारीहरुलाई फोन गरेर भेट्न बोलाउने, प्रतिनिधी खटाएर दवाव दिने गरेको केत्तुकेका स्थानीय बबिन राईले बताए । उनले भने, ‘स्थानीय व्यक्तिलाई कार्यालय र प्रतिनिधी समेत पठाएर दवाव दिने, प्रलोभन देखाउने र डर देखाउने काम भइरहेको छ ।’ केत्तुकेको मुम्लुमा सेटिङमै उपभोक्ता समितिको अध्यक्ष समेत सुटुक्क फेरेर योजनाको काम शुरु गरि कमिसन लिइएको स्थानीयको भनाइ छ ।
उनले आफु निकटका सेटिङमा रहेका योजनामा काम गर्ने एजेन्टहरु राखेर पत्रकारलाई ठिक पार्ने विषयमा समेत छलफल गरेको कार्यालयका एक कर्मचारीले बताए । उनले भने, ‘पत्रकारले भनेको टेरेनन्, ठिक पार्नुपर्छ भन्ने विषयमा छलफल भएको छ ।’ यादवले कार्यालयकै कर्मचारीलाई समेत दवाव दिने गरेको उनको भनाइ छ । सिंचाइ कार्यालयको घोटला प्रकरण बाहिर ल्याउन् पत्रकारको सुराकी गर्न एजेन्ट नै खटाएको ओखलढुंगाखबरलाई स्रोतले बतायो । स्रोतले भन्यो, ‘समाचार लेख्ने पत्रकारको निगरानी गर्न उनले प्रतिनिधी खटाएका छन्, दैनिकजसो तिनले यादवलाई रिर्पोटिङ गर्छन् ।’
यादवले खटाएका एजेन्टको विवरण, कार्यालयले उपभोक्तामार्फत सञ्चालन गरेका योजनाको लगत स्टमेट उपभोक्तालाई नदिने, खाली काजजातमा सही गराउने र ठेक्काका कागजात समेत तलमाथि पार्ने गरेको तथ्य ओखलढुंगाखबरलाई प्राप्त भइसकेको छ ।
यी पनि पढ्नुहोस्
फोकुल सिंचाइ योजनामा ठेकेदार र उपभोक्ता अध्यक्ष एकै व्यक्ति, ३ करोड बढीको चलखेल
सिंचाइ अनियतता प्रकरण २ : कतै हिसाब नखोज्ने पूर्वशर्त, कतै प्रलोभन
ओखलढुंगाको सिंचाइ कार्यालयमा असुलिन्छ योजनैपिच्छे कमिसन