ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले लकडाउनप्रभावितलाई वितरण गरेको राहत विवादमा तानिएको छ । नगरपालिकाले वितरण गरेको राहतको विषयलाई लिएर ओखलढुंगामा कांग्रेस-नेकपा दोहोरीमा उत्रिएका छन् ।
आज मात्रै नेपाली कांग्रेस सिद्धिचरण नगर कार्य समितिले दोस्रो विज्ञप्ति जारी गर्दै नेकपा ओखलढुंगाले यसअघि जारी गरेको विज्ञप्तिको भर्त्सना गरेको छ । गत १५ गते नेकपाले कांग्रेसले जारी गरेको विज्ञप्तिका विरुद्ध विज्ञप्ति जारी गरेको थियो ।
नेकपाको विज्ञप्ति सार्वजनिक भएपछि कांग्रेसले फेरि आज नेकपाको विज्ञप्तिका विरुद्ध विज्ञप्ति निकालेको छ । जसमा कांग्रेसले सुझावसहित दिएको विज्ञप्तिका विषयमा नगरपालिकाको धारणा सार्वजनिक नभई राजनितक दलले नगरपालिकाको बचाउ गरेको खण्डन प्रति घोर भर्त्सना गरिएको छ । विज्ञप्तिमा नगरकार्यपालिका आफैँमा स्वतन्त्र, निष्पक्ष र कार्यकारी अधिकार सम्पन्न जनउत्तरदायी स्थानीय सरकार नभई कुनै राजनीतिक दल विशेषको कठपुतली बनेको कांग्रेसले आरोप लगाएको छ ।
जारी विज्ञप्तिमा जनताको मतबाट निर्वाचित सबैभन्दा नजिकको स्थानीय सरकार साझा, निष्पक्ष, स्वतन्त्र, जनताप्रति उत्तरदायी र जनमैत्री बन्नुपर्छ भन्ने सुझाव अन्य राजनितक दलले दिनु बहुदलीय अभ्यासको संवैधानिक व्यवस्था भएकाले आफ्नो अभिभावकको रुपमा रहेको स्थानीय सरकारप्रति सुझाव एवं गुनासाहरु राख्नु जुनसुकै दल तथा नागरिकको अधिकारभित्र रहेको दावी गरिएको छ ।
कांग्रेसका सिद्धिचरण नगर समिति संयोजक डिल्लीराम खनाल, सभापति गोविन्दबहादुर बानियाँ र उपसभापति रमेशप्रसाद धमलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अहिलेको विषम परिस्थितिमा झुटको खेती नगर्न र नगरपालिकालाई जनउत्तरदायी बनाउनका लागि उचित सुझावसहित सहजीकरण र सहयोग गर्न नेकपा नगर कमिटीलाई आग्रह गरिएको छ । विज्ञप्तिमा कांग्रेसले सिद्धिचरण नगरपालिकाले आफ्ना सुझावलाई हालसम्म कार्यान्वयन नगरेको र कोरोना विरुद्धको गतिविधिमा ठोस कदम नचालेको हुँदा जनताको जीवनरक्षार्थ यथाशीघ्र कार्यान्वयनका लागि बुँदागत सुझाब समेत दिएको छ ।
बुँदागत सुझावमा सबै नागरिकलाई सूचनाको हकबाट सुसुचित गराउनुपर्ने, राहत तथा उद्दार प्रणाली अवैज्ञानिक भएकाले त्यसलाई सच्याउनुपर्ने, खाद्यान्न तथा औषधिलगायतको व्यवस्थापन गर्नुपर्ने लगायतका सुझाव रहेका छन् ।
यसरी सुरु भयो विज्ञप्तिको श्रृंखला
सुरुमा नेपाली कांग्रेस सिद्धिचरण नगर कार्य समितिले गत १३ गते विज्ञप्ति जारी गरेको थियो । जसमा सिद्धिचरण नगरपालिकाले भनेजस्तो काम नगरेको, राहत वितरण कमजोरी भएको, आफू अनुकुल वितरण गरिएको, धेरै श्रमजीवी श्रमिकलाई छुटाइएको, स्वास्थ्य सामग्री व्यवस्थापन चित्तबुझ्दो नभएकोलगायतका आरोप लगाइएको थियो । सो लगत्तै १५ गते कांग्रेसको विज्ञप्तिका विरुद्ध सिद्धिचरण नगरपालिकाको बचाउ गर्दै नेकपा ओखलढुंगाले विज्ञप्ति जारी गर्यो । विज्ञप्तिमा कांग्रेसले निकालेको विज्ञप्तिप्रति भर्त्सना गर्नको साथै नगरपालिकाले गरिरहेको काम कारबाहीलाई विश्लेषण गर्दै स्वास्थ्य, सुरक्षा र जीवन रक्षाको लागि नगरपालिका सचेत रहेको दाबी गरिएको थियो ।
नगरपालिकाले वडा कार्य समितिको निर्णय बमोजिम छनोट भई आएका व्यक्तिहरुलाई मापदण्ड बनाएर असंगठित श्रमजीवी कामदार विपन्न वर्ग तथा असहाय वर्गलाई पहिलो चरणमा चामद दाल, नून र तेल राहत सामग्री वास्तवित व्यक्तिहरुलाई वितरण गरेको पाइएको भन्दै नेकपाले सिद्धिचरण नगरपालिकाको बचाउ गरेको थियो । नेकपाको उक्त विज्ञप्तिका विरुद्ध फेरि कांग्रेसले विज्ञप्ति जारी गरेको हो ।
सिद्धिचरण नगरपालिकाले भने विज्ञप्तिका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
यी पनि हेर्नुहोस्
विज्ञप्तिका विरूद्ध विज्ञप्ति : नेकपा सिद्धिचरण कमिटीले गर्यो भर्त्सना
सिद्धिचरण नगरपालिकाको राहत व्यवस्थापन टुहुरेपन प्रवृत्ति : कांग्रेस