ओखलढुंगा । अनियमिततालाई ढाकछोप गर्ने पनि अनेक काइदा हुन्छन् । यस्ता काइदा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख महेश यादवलाई राम्रैसँग थाहा छ ।
सेटिङमा योजना सञ्चालन गरेर आर्थिक अनियमितता गरिएको विषयमा एकपछि अर्को समाचार सार्वजनिक भएपछि कार्यालय प्रमुख यादवले केही कर्मचारी र उनले खटाएका एजेन्टलाई ढाकछोपमै उतारेका छन् । सिंचाइ घोटला प्रकरणको विषयमा अख्तियारले समेत छानबिन थालेको छ । अख्तियारको निर्देशनमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले समिति नै गठन गरेको छ । तर छानबिन नै प्रभावित हुनेगरी प्रमुख यादवले नयाँ फण्डा निकालेर रेडियो कार्यक्रम उत्पादन गर्न लगाएका हुन् ।
प्रमुख यादवले विवादित योजनामै लगेर जिल्लाको एक रेडियोमार्फत 'कृषि र सिंचाइ' नामको कार्यक्रम उत्पादन सुरु गराएका हुन् । 'जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयबाट सम्पादन भएका क्रियाकलाप र त्यसबाट परेका सकारात्मक प्रभावको चर्चा गर्ने' भनिएको उक्त रेडियो कार्यक्रम अनियमिततालाई ढाकछोप गर्न र छानबिन प्रभावित बनाउनका लागि प्रयोग गरिएको छ ।
सिंचाइ कार्यालयमा हुने खुलेआम घोटलाको विषयमा समाचार सार्वजनिक भएपछि उत्पादन सुरु गरिएको रेडियो कार्यक्रमको पहिलो अंक बुधबार साँझ प्रशारण गरिएको थियो । कार्यक्रम उँबूको फोकुल सिंचाइ योजनामा केन्द्रित रहेको थियो । जहाँ कार्यालय प्रमुख यादवका एजेन्ट प्रकाश तामाङले काम गर्दै आएका छन् । फोकुलमा रेकर्ड गरिएको रेडियो कार्यक्रम समाचार गलत सावित गर्न र काम गुणस्तरीय भएको सावित गर्ने हिसाबले प्रसारण भएको छ ।
तर सेटिङमा प्रकाश तामाङले सिंचाइ कार्यालयबाट योजना पारेको विषय, मानेभञ्ज्याङ गाउँपालिका वडा नं ४ का तामाङ वडा नं ३ को उँबूको उपभोक्ता समिति बनेको विषय, उपभोक्ता समितिको अध्यक्ष बनाउनका लागि सोही योजनाका उपाध्यक्ष विष्णुप्रसाद राईको जग्गा नामसारी गरेर समिति अध्यक्ष बनाइएको विषय र समाचार सार्वजनिक हुनुभन्दा अगाडि नै खाली चेकमा सही गराइएको विषय कार्यक्रममा सुनियोजित रुपमा समेटिएको छैन ।
जे होस् अनियमितताबारे समाचार आएपछि रेडियो कार्यक्रम उत्पादन हुनुले पनि प्रमुख यादव ढाकछोपमा लागेको खुलेआम रुपमै पुष्टि भइरहेको छ ।
सिंचाइसँग सम्बन्धित यी समाचार पनि पढ्नुस्
सिंचाइ घोटला प्रकरण ५ : अख्तियार र जिल्ला समन्वय समितिको चासो
अनियमितताको सुचना बाहिरिएपछि उपभोक्ता धम्क्याउँदै यादव
फोकुल सिंचाइ योजनामा ठेकेदार र उपभोक्ता अध्यक्ष एकै व्यक्ति, ३ करोड बढीको चलखेल
सिंचाइ अनियतता प्रकरण २ : कतै हिसाब नखोज्ने पूर्वशर्त, कतै प्रलोभन
ओखलढुंगाको सिंचाइ कार्यालयमा असुलिन्छ योजनैपिच्छे कमिसन